६० मिनेट खेलेका हल्यान्डलाई ‘प्लेयर अफ् मन्थ’ अवार्ड !

एजेन्सी, फागुन ४
जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड घरेलु लिग बुन्डेसलिगामा महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग बुन्डेसलिगाले उनलाई जनवरी महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषित गरेको हो ।

जनवरी महिनामै क्लबमा अनुबन्ध भएर मात्रै ६० मिनेट खेलेका १९ वर्षीय हल्यान्डले सनसनीपूर्ण प्रदर्शन गर्दै सुरुआतका दुई खेलबाटै ५ गोल हानेका थिए । ती दुवै खेलमा उनले बेन्चबाट खेलेका थिए । मात्रै ६० मिनेट मैदानमा बिताएर ५ गोल गरेका उनलाई लिगले महिनाकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो ।

हल्यान्ड जनवरी विन्डोमा अस्ट्रियन क्लब रेड बुलबाट डर्टमुन्डमा अनुबन्ध भएका थिए । उनले एफसी कोल्नविरुद्धको खेलमा जनवरी २५ तारिखमा डेब्यु गरेका थिए । बेन्चबाट मैदान छिरेका उनले डेब्यु खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए ।

त्यसपछि दोस्रो खेलमा हल्यान्डले युनियन बर्लिनविरुद्ध पनि २ गोल गरे । सो खेलमा पनि बेन्चबाटै मैदान छिरेका उनले टिमको ५–० को जितमा २ गोलको योगदान दिएका थिए ।

हल्यान्डले हालसम्म डर्टमुन्डका लागि मात्रै ६ खल खेल्दै ९ गोल गरेका छन्, जुन ताजा अवस्थामा युरोपियन टप–५ लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा राम्रो तथ्यांक हो ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १४:२७
Loading...