सिरी ए : आज लाजियो र इन्टरको रोमाञ्चक भिडन्त हुँदै, युभेन्टसको खेल पनि आजै

काठमाडौं, फागुन ४
इटालियन सिरी ए लिग फुटबलमा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । आज युभेन्टस, नापोली, इन्टर मिलान, लाजियोले आ–आफ्नो खेल खेल्दैछन् । आज हुने खेलमध्ये सर्वाधिक आकषर्णको खेल लाजियो र इन्टर मिलानको हुनेछ । त्यसपछि युभेन्टस र ब्रेसियाको खेलमा पनि धेरैको आँखा हुनेछ ।

आज युभेन्टस आफ्नो घरमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनै खेल्दै छ । रोनाल्डोलाई यस खेलमा आराम दिइएको छ । रोनाल्डो नहुँदा आज युभेन्टसको आक्रमण लाइनमा पाउलो डिबाला, गोन्जालो हिगुइन हुनेछन् । आज यसै खेलबाट ६ महिनादेखि घाइते रहेका कप्तान जर्जियो चिलिनीले पनि पुनरागमन गर्दैछन् ।

युभेन्टस आज आफ्नो घरमा लिगको १९औं स्थानको टिम ब्रेसियाविरुद्ध खेल्दा स्पष्ट जित निकालेर आजै राति इन्टर मिलानले आफ्नो खेल नखेल्दासम्म शीर्ष स्थानमा उक्लिने दाउमा छ ।

आज हुने अर्को खेलमा राति १ः४५ बजेबाट लाजियो र इन्टर मिलानको रोमाञ्चक भिडन्त हुनेछ । हालको ताजा अवस्थामा युभेन्टस, इन्टर मिलान र लाजियोबीच उपाधिमा होडमा चर्को प्रतिस्पर्धा छ । लिग लिडर मिलान र युभेन्टसको समान ५४–५४ अंक छ भने लाजियोको खातामा ५३ अंक छ ।

लाजियो आज आफ्नो घरमा मिलानलाई हराएर कम्तीमा लिगको दोस्रो स्थान (युभेन्टसले ब्रेसियालाई हराए) उक्लिने दाउमा छ । यदि आज युभेन्टसले ब्रेसियालाई हराउन सकेन र राति लाजियोले मिलानलाई हरायो भने लाजियो लिगको शीर्ष स्थानमा चढ्नेछ ।

यस्तो दबाबबीच आज लाजियो र मिलान दुवै ३ अंकका लागि ठूलै संघर्ष गर्नेछन् । दुवैका लागि उपाधि होडमा अग्रता लिन यो खेलको ३ अंक ज्यादै महत्त्वपूर्ण छ ।

आजका खेल नेपाली समयमा :

  1. उडिनेस भर्सेस भेरोना – साँझ ५ः१५ बजे
  2. साम्पडोरिया भर्सेस फियोरेन्टिना – राति ७ः४५ बजे
  3. सासुओलो भर्सेस पार्मा – राति ७ः४५ बजे
  4. युभेन्टस भर्सेस ब्रेसिया – राति ७ः४५ बजे
  5. क्याक्लिअरी भर्सेस नापोली – राति १०ः४५ बजे
  6. लाजियो भर्सेस इन्टर मिलान – राति १ः३० बजे

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १४:१३
Loading...