आज रियल मड्रिडको भिडन्त सेल्टासँग : हाजार्ड तीन महिनापछि मैदान फर्किँदै

काठमाडौं, फागुन ४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार खेल हुँदैछन् । आज हुने खेलमध्ये रियल मड्रिड र सेल्टा भिगोको खेल सबैभन्दा आकर्षणको खेल हुनेछ । रियल यो खेलका लागि सेल्टालाई आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा रियल २३ खेलपछि ५२ अंक बनाएर शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको बार्सिलोना समान ५२ अंकसहित दोस्रो स्थानमा छ । यदि रियलले आज राति आफ्नो घरमा हुने खेलमा स्पष्ट जित निकाले बार्सिलोनासँग पुनः ३ अंककै अग्रता लिनेछ । यता, आज रियलको घरमा उत्रिन लागेको २० अंकसहित लिगको १८औं स्थानमा छ । सेल्टा आज रियललाई उसकै घरमा अप्रत्यासित जित निकालेर रेलिगेसन जोनबाट माथि उक्लिने दाउमा छ ।

आज आफ्नो घरमा उत्रिँदा रियलसँग प्रमुख आकर्षण इडेन हाजार्ड हुनेछन्, जो करिब तीन महिनापछि चोटमुक्त भएर मैदान फर्किंदैछन् । खेलअघि प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड खेल्न १०० प्रतिशत फिट रहेको र उनले सेल्टासँगको खेलबाट पुनरागमन गर्ने स्पष्ट पारेका छन् ।

गत समर सिजनमा इंग्लिस क्लब चेल्सीबाट रियल आइपुगेका हाजार्ड दुईपटक घाइते हुँदा पर्याप्त खेल्न पाएका छैनन् । हालसम्म उलने १३ खेलबाट १ गोल गर्दै मात्रै १ गोलमा असिस्ट गरेका छन् । बेल्जियमका स्टार हाजार्डलाई यो सिजनका बाँकी खेलमा प्रभाव छाड्न आजदेखि उताका दिन ज्यादै महत्त्वपूर्ण हुनेछन् ।

ला लिगाको उपाधि होड लिड गर्न रियलका लागि आजको खेलको ३ अंक ज्यादै महत्त्वपूर्ण हुनेछ । रियल बार्सिलोनामाथि दबाब कायमै राख्न आजको खेल जितेर अंग्रता जोगाउन आतुर छ ।

आज हुने अन्य खेलहरूमा सेभिल्ला र इस्पान्योल साँझ ४ः४५ बजेबाट खेल्दा साँझ ६ः४५ बजेबाट लेगानेस र रियल बेटिसको खेल हुनेछ । आज हुने एइबार र रियल सोसिडाडको खेल भने स्थगित भएको छ । अर्को खेलमा राति ११ः१५ बजेबाट एथ्लेटिक बिल्बाओ र ओसासुनाको भिडन्त हुनेछ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १२:४१
Loading...