६ वर्षपछि मेस्सीलाई गोलको खडेरी !

काठमाडौं, फागुन ४
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी जारी सिजन उत्कृष्ट लयमा छैनन् । गोल गर्ने मामिलामा केही कमजोर देखिएका उनी असिस्ट वितरणमा पनि निकै अघि छन् । गत राति बार्सिलोनाले ला लिगामा आफ्नो घरमा गेटाफेमाथि २–१ को जित निकाल्नेक्रममा एन्टोनी ग्रीजम्यानको सुरुआती गोलमा असिस्ट गरेका मेस्सी आफैं भने गोलविहीन बने ।

यो सिजन समग्र व्यक्तिगत प्रदर्शनमा राम्रो रहे पनि गोल संख्यामा मेस्सी पछि परेका छन् । त्यसमा पनि ला लिगामा त मेस्सी ६ वर्षयताकै सबैभन्दा लामो गोलको खडेरीमा गुज्रिरहेका छन् । गत राति गेटाफेविरुद्ध गोल गर्न असफल भएपछि सन् २०१४ पछि मेस्सी पहिलोपटक लगातार चार खेलमा गोल गर्न असफल भएका हुन्, जुन मेस्सीका लागि गोल तथ्यांकका हिसाबले राम्रो होइन ।

यसअघि सन् २०१४ मा पनि मेस्सीले लगातार चार खेलसम्म ला लिगामा गोल गर्न सकेका थिएनन् । र, त्यसपछि यो सिजन मेस्सीले लगातार चार खेलमा गोल गर्न सकेका छैनन् । गत राति गेटाफेविरुद्ध गोलविहीन हुनुअघि मेस्सीले भ्यालेन्सिया, लेभान्टे र रियल बेटिसविरुद्ध पनि गोल गर्न असफल भएका थिए ।

लगातार चार खेलमा गोलविहीन बने पनि मेस्सी अझैसम्म ला लिगाको सर्वाधिक गोलकर्ता र असिस्टकर्ता छँदै छन् । उनले कूल १४ गोल गरेका छन् भने १२ गोलमा असिस्ट गरेका छन् । यो असिस्ट संख्या ला लिगाको मात्रै हो । यो सिजन मेस्सीले मालोर्सा र सेल्टा भिगोविरुद्ध गरी दुई ह्याट्रिकसमेत गरेका छन् । मेस्सीले ला लिगामा यो सिजन १९ खेल खेल्दै १४ गोल र १२ असिस्ट गरेर कूल २६ गोलमा सोझै सहभागी भएका छन् ।

त्यत्ति मात्रै हैन, मेस्सी बार्सिलोनाले गरेका पछिल्ला ७ गोलमा आफै सोझै सहभागी छन् । जसमा उनले ६ गोलमा असिस्ट गरेका छन् भने १ गोल आफैंले गरेका छन् । उनले पछिल्ला ६ गोलमा लगातार असिस्ट गरेका हुन् । गेटाफेविरुद्धको खेलअघि उनले रियल बेटिसविरुद्ध असिस्टमा हयाट्रिक नै गरेका थिए ।

जारी सिजन मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट गरी २७ खेल खेल्दै मात्रै १९ गोल गरेका छन् भने १८ असिस्ट गरेका छन् । देश र क्लबबाट गरी उनले यो सिजन कूल २९ खेलबाट २१ गोल गर्दै १९ असिस्ट पूरा गरेका छन्, जुन एक शानदार तथ्यांक हो ।

केही समयअघि सहकर्मी लुइस स्वारेज घाइते भएपछि मेस्सीको ‘गोल स्कोरिङ’मा धक्का लागेको देखिन्छ । मैदानमा स्वारेजसँग उत्कृष्ट तालमेल मिल्दै आएकोमा स्वारेज मैदानबाहिर हुँदा त्यसको सोझो असर मेस्सीको गोल संख्यामा देखिएको छ । स्वारेज र मेस्सीको जोडीलाई गोल गर्ने तथा एकअर्कालाई असिस्ट गर्ने मामिलामा बार्सिलोना मात्रै नभएर युरोपियन लिगमै शानदार जोडी मानिन्छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १०:३८
Loading...