प्रिमियर लिग : अपराजित लिभरपुलको २५औं जितमा माने नायक !

काठमाडौं, फागुन ४
इंग्लिस प्रिमियर लिगमा जारी सिजन हालसम्म पनि अपराजित रहेको लिभरपुलले २५औं जित निकालेको छ । शनिबार राति भएको लिगको २६औं खेलमा लिग लिडर लिभरपुलले २०औं स्थानको नर्विच सिटीलाई उसकै घरमा ०–१ ले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई जिताउन सब्सिच्युट खेलाडी साडियो माने नायक बने । खेलको ६०औं मिनेटमा एलेक्स ओक्सलाडे च्याम्बर्लिनको स्थानमा मैदान छिरेका मानेले ७८औं मिनेटमा शानदार गोल गरे । जोर्डन हेन्डर्सनको लामो पास नियन्त्रणामा लिएर हानेको प्रहारले सोझै जाली चुमेपछि खेल लिभरपुलले ०–१ ले जित्यो ।

यससँगै जारी सिजन लिभरपुलले खेलेका २६ खेलमध्ये २५ खेलमा स्पष्ट जित निकालेर अपराजित यात्रा कायमै राखेको छ । उसले एक खेल बराबरी गरेको छ । लिभरपुलको खातामा अब २६ खेलबाट ७६ अंक भएको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार ०१:०७
Loading...