गेटाफेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित : रियल मड्रिडसँग अंक बराबरी

काठमाडौं, फागुन ३
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको छ । शनिबार राति भएको लिगको २४औं साताको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा पाहुना टोली गेटाफेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

यो जितपछि बार्सिलोनाले एक खेल कम खेलेको लिग लिडर रियल मड्रिडसँग अंक बराबरी गरेको छ । तर, रियलले आफ्नो खेल आइतबार राति खेल्दैछ । बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान र सर्जी रोवेर्टोले गोल गरे ।

घरेलु रंगशाला क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले खेलको २३औं मिनेटमा गोल खाए पनि भिआएरले सो गोल रद्द गरेपछि बार्सिलोनालाई राहत मिलेको थियो । गोल हुनेक्रममा गेटाफेका खेलाडीले बार्सिलोनाका डिफेन्डर सामुएल उम्टिटीलाई फउल गरेपछि भिएआरले गेटाफेको गोल रद्द गरेको थियो ।

सो गोल रद्द भएपछि घरेलु टोली बार्सिलोनाका लागि ३३औं मिनेटमा ग्रीजम्यानले गोल गरे । कप्तान लिओनल मेस्सीले दिएको सुन्दर पासमा ग्रीजम्यानले चिप प्रहारमा सुन्दर गोल गरेका थिए । त्यसको ६ मिनेटमै बार्सिलोनाका लागि रोवेर्टोले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता बनायो ।

त्यसछि दोस्रो हाफमा पाहुना टोली गेटाफेले सुधारिएको प्रदर्शन गर्दै बार्सिलोनामाथि दबाब बढायो । सोहीक्रममा ६६औं मिनेटमा उसका लागि एन्जल रोड्रिग्वेजले निकै सुन्दर गोल गरे । माटाले मैदानको माथिल्लो भागबाट दिएको पासमा रोड्रिग्वेजले भली किकमा निकै सुन्दर गोल गरेपछि खेल २–१ मा आयो । तर, बाँकी समयमा खेलमा थप गोल नभएपछि खेल बार्सिलोनाले २–१ ले जित्यो ।

दोस्रो हाफमा बार्सिलोनाका ग्रीजम्यानले पाँच मिनेटको बीचमा दुई सुन्दर मौका पाए पनि उनी त्यसमा चुकेका थिए । यता, गेटाफेले दोस्रो हाफमा दुई गोलका मुभ बनाए पनि फिनिसिङमा चुक्दा उसले घरेलु टोलीलाई ३ अंक सुम्पियो ।

अब यो जितपछि बार्सिलोनाको खातामा २४ खेलपछि ५२ अंक भएको छ, जुन एक खेल कम खेलेको लिग लिडर रियल मड्रिडसँग बराबरी हो । रियल एक खेल कम खेलेर पनि समान ५२ अंकसहित शीर्ष स्थानमा छ । यता, पराजित गेटाफे २४ खेलपछि ४२ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार २२:३८
Loading...