विश्वकप छनौट : अस्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं, फागुन ३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जारी एसियन छनौट खेलअन्तर्गत अस्ट्रेलियाविरुद्ध खेल्ने दोस्रो लेगको खेलका लागि नेपाली टोली घोषणा भएको छ । एसियन क्षेत्रबाट विश्वकपसँगै सन् २०२३ मा चीनमा हुने एएफसी एसिन कपको छनौटका लागि एकैपटक खेल जारी छन् ।

प्रशिक्षक योहान कालिनले नेपालमा ए डिभिजन लिग सकिएकै दिन अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेका हुन् । प्रारम्भिक टोलीमा ३१ जना खेलाडी छन् ।

यसअघि सबै अवे खेल खेलिसकेको नेपालले होम म्याच खेल्नेक्रममा मार्च ३१ तारिखमा काठमाडौंस्थित दशरथ रंगशालामा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ । यसअघि नेपाल अस्ट्रेलियासँग उसको घरमा ५–० ले हारेको थियो ।

घोषित नेपाली टोलीमा पहिलो रोजाइका गोलकिपर किरण चेम्जोेङ, फरवार्ड विमल घर्ती मगर, रोहित चन्द र अभिषेक रिजाल समावेश छैनन् । यता, अन्जन विष्ट भने टोलीमा परेका छन् । केही समयअघि अनुशासनको कारबाहीमा परेपछि विमल र अन्जनलाई साग खेलकुद खेल्ने टोलीमा राखिएको थिएन ।

सार्वजनिक टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, रेजिन धिमाल, सुमन आर्याल, अमृत तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ र विकास खवास छन् ।

त्यस्तै, अनन्त तामाङ, देवेन्द्र तमाङ, दिलेन मोक्तान, सिसेङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्चेन तामाङ, पुजन उपर्कोटी, अरिक विष्ट, विशाल राई ‘बी’ र सुजल श्रेष्ठ पनि परेका छन् ।

त्यस्तै, रवी पासवान, सुनील बल, अन्जन विष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशीष लामा र बिवल रानालाई पनि टोलीमा डाकिएको छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार २०:२९
Loading...