‘उपहार गोल’को मदतमा मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३
नेपालको शीर्ष डिभिजनको फुटबल लिग सहिद स्मारक ए डिभिजन लिग–२०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । आज शनिबार भएको अन्तिम खेलमा मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि चुमेको हो । मछिन्द्रले १३ खेलबाट ३१ अंक जोडेर उपाधि जितेको हो ।

काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा मछिन्द्रले १–० को अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङले आफ्नै पोस्टमा गोल गरेपछि आर्मीलाई ठूलो झट्का लागेको थियो ।

निकै घम्साघम्सीपूर्ण खेलमा मछिन्द्रका रन्जित धिमालले हानेको फ्री किक प्रहारमा विकासले हेडिङमार्फत् बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा बल छिरेको थियो । गल्तीले गोल खानु र आर्मीका गोलकिपर विकेश कुथु लगत्तै घाइते हुनु मछिन्द्रका लागि भने फाइदाजनक भयो ।

खेलभरिमा मछिन्द्रले अन्य २ गोल पनि गरेको थियो । तर, ती दुवै गोल अफसाइड भएकाले मान्यता दिइएन । गोल खाएर पछि परेको आर्मीले दोस्रो हाफमा कमब्याक गर्न सकेन । र, खेल मछिन्द्रले १–० ले जित्यो ।

यदि आर्मीले यो खेल नहारेर बराबरी गर्न मात्रै सकेको भए पनि उपाधि जित्न पर्याप्त हुनेथियो । तर, गोल खाएर गोल फर्काउन नसक्दा आर्मी ऐतिहासिक उपाधि जित्नबाट चुक्यो ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १६:४७
Loading...