युरोपका चार ‘हेभिवेट’ देशले नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै

काठमाडौं, फागुन ३
सन् २०२२ को फिफा विश्वकप आयोजक देश कतारले युरोपका चार हेभिवेट देशलाई समेटेर नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । कतारले युइएफए र फिफासँगको समन्वयमा मार्च महिनाको अन्तर्राष्ट्रिय ब्रेक समयमा तीनदिने ‘कतार एयरवेज इन्टरनेशनल टुर्नामेन्ट’ नाम दिएर नयाँ मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । यो पहिलो संस्करण हो ।

सो प्रतियोगिताको उपाधि होडमा सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल, २०१८ को विश्वकपको उपविजेता क्रोएसिया, तेस्रो बनेको बेल्जियम र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । हाल फिफा वरीयतामा बेल्जियम पहिलो स्थानमा छ भने पोर्चुगल सातौंमा छ । त्यस्तै, स्वीट्जरल्यान्ड १२औं स्थानमा छ भने क्रोएसिया छैटौं स्थानमा छ ।

सन् २०२२ को विश्वकप आयोजक कतारले यस वर्ष हुने युरो कपलाई पनि ध्यानमा राखेर नयाँ मैत्रीपूर्ण प्रतियोगिता खेलाउन लागेको हो । प्रतियोगिताको पहिलो खेलमा क्रोएसिया र स्वीट्जरल्यान्डसँग मार्च २६ तारिखमा भिडन्त गर्नेछन् । अर्को खेलमा पोर्चुगल र बेल्जियमको रोमाञ्चक भिडन्त हेर्न पाइनेछ । दुवै खेलका विजेता टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्नेछन् ।

यता, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने यो प्रतियोगिता अन्तर्राष्ट्रिय मञ्चमा १०० गोल पूरा गर्ने अवसर हुनेछ । यदि सो समयमा गम्भीरखाले चोट नबोके ३५ वर्षीय रोनाल्डो ठीकठाक बलिया टोलीहरूसँगको सो प्रतियोगिता खेल्न उपलब्ध हुनेछन् ।

उनले हालसम्म पोर्चुगलका लागि कूल ९९ गोल गरेका छन् । उनलाई १०० गोल पूरा गर्न अब मात्रै १ गोल आवश्यक छ । वर्ष २०२० मा रोनाल्डोले पोर्चुगलबाट कतार एयरवेज इन्टरनेशनल टुर्नामेन्ट, त्यसपछि दुई मैत्रीपूर्ण खेल र त्सपछि युरो कप खेल्नेछन् । यी सबै प्रतियोगिताबाट गरी उनले २०२० मै फुटबलमा इतिहासमा इरानी खेलाडी अली डेईको नाममा रहेको सर्वाधिक १०९ गोलको रेकर्ड भंग गर्ने करिब–करिब पक्का छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १५:४५
Loading...