ला लिगा : एथ्लेटिको र भ्यालेन्सिया बराबरीमा रोकिए

काठमाडौं, फागुन ३
स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गत राति भएको लिगको २४औं साताको खेलमा भ्यालेन्सियाले आफ्नो घरमा पाहुना टोली एथ्लेटिकोसँग २–२ को बराबरी खेलेको हो ।

आफ्नो घरमा भ्यालेन्सियाले दुईपटक पछि परेर पनि बराबरी नतिजा निकालेको हो । पाहुना टोली एथ्लेटिकोले खेलको १५औं मिनेटमा मार्कोस लोरेन्टोको गोलबाट घरेलु टोलीविरुद्ध लिएको थियो । तर, खेलको ४०औं मिनेटमा भ्यालेन्सियाका लागि ग्याब्रिएल पाउलिस्टाले गोल गरेर खेल १–१ बनाए ।

फेरि लगत्तै ४३औं मिनेटमा एथ्लेटिकोका लागि थोमस पार्टेले गोल गर्दै टिमलाई पलिो हाफमा १–२ को अग्रता दिलाए । तर, दोस्रो हाफमा भ्यालेन्सियाले खेलको ५९औं मिनेटमा गोल गर्दै खेल २–२ बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल २–२ मा सकियो ।

यो बराबरीसँगै एथ्लेटिकोले पछिल्ला पाँच खेलमा एक मात्रै खेल जित निकालेको छ । उसले दुई खेल बराबरी गर्दा दुई खेल हारेको छ । ऊ हाल २४ खेलपछि ४० अंक बनाएर चौथो स्थानमा छ । यता, भ्यालेन्सिया ३८ अंक भएर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ०८:०८
Loading...