मिडफिल्ड सुधार्न युभेन्टसले समरमा पोग्बा फर्काउने

एजेन्सी, फागुन २
इटालीको क्लब युभेन्टसले समर सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वखेलाडी पाउल पोग्बा भित्र्याउने भएको छ । इटालियन मिडियाका अनुसार युभेन्टसले पोग्बाका एजेन्ट मिनो राईओलासँग पोग्बाको सम्भावित सरुवाका लागि छलफलसमेत अघि बढाएको छ ।

शुक्रबार एक पत्रिकासँग कुरा गर्दै राईओलाले पनि ‘पोग्बाका लागि इटाली दोस्रो घर रहेको’ भन्दै पोग्बाको इटाली फिर्तीलाई संकेत गरेका छन् । पोग्बाले सन् २०११–१२ सिजन युनाइटेडबाट खेलेर २०१२ देखि २०१६ सम्म युभेन्टसबाट खेलेका थिए । त्यसपछि उनी पुनः युनाइटेड नै पर्किएर हालसम्म त्यहीं छन् ।

यो सिजन चोटका कारण पोग्बा अधिकांश समय टोलीबाहिरै छन् । युनाइटेडमा आफ्नो भूमिका खुम्चिँदै गएपछि पोग्बा पनि विकल्प खोजिरहेको बताइन्छ । जारी सिजन उनले जम्मा ८ खेल मात्रै खेलेका छन् ।

युभेन्टसले आफ्नो कमजोर मिडफिल्डमा सुधार ल्याउन पनि पूर्वखेलाडी पोग्बालाई पुनः फर्काउन चाहेको छ । युनाइटेडले पोग्बाका लागि १०० मिलियन युरो मूल्य माग गर्न सक्ने बताइएको छ । पोग्बा अट्याकिङ मिडफिल्डमा एक प्रमुख अस्त्र मानिन्छन् ।

यता, पोग्बा भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड पनि इच्छुक छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले पोग्बालाई गत समर सिजनमै भित्र्याउन चाहे पनि सफल भएका थिएनन् ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार २१:३९
Loading...