म रोनाल्डोकै कारण युभेन्टस फर्किएको हुँ : बुफोन

एजेन्सी, फागुन २
इटालियन क्लब युभेन्टसका भेट्रान गोलकिपर जियानलुइजी बुफोनले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनले पोर्चुगिज फरवार्डलाई ‘अतुलनीय च्याम्पियन खेलाडी’ भन्दै उनीसँग खेलेर आफूले फुटबल करिअरमध्ये एक सुन्दर अनुभव संगालिरहेको बताएका छन् ।

अघिल्लो दिन कोपा इटालिया फुटबलको सेमिफाइनलमा अवे मैदानमा एसी मिलानसँग १–१ को बराबरीपछि मिडियासँग बोल्दै इटालियन गोलकिपरले यस्तो बताएका हुन् । सो खेलमा युभेन्टस हार नजिक पुगेका बेला रोनाल्डोले नै इन्जुरी समयमा पेनाल्टी गोल गोल गर्दै टिमलाई हारबाट बचाएका थिए । रोनाल्डोको गोलसँगै युभेटन्सले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

मिलानविरुद्ध युभेन्टसको गोल पोस्ट सम्हालेका बुफोनले खेलपछि रोनाल्डोको तारिफ मात्रै गरेनन्, आफू पिएसजीबाट युभेन्टस फर्किनुको मुख्य कारण रोनाल्डो नै रहेको पनि बताए । ‘क्रिस्टियानो एक अतुलनीय च्याम्पियन खेलाडी हुन्, आधुनिक फुटबलमा उनको तुलना कसैसँग हुन सक्दैन । उनले अहिले पनि टिमलाई १०० प्रतिशत दिइरहेका छन्,’ बुफोनले भने ।

बुफोनले अघि थपे, ‘सायद पिएसजीबाट म इटाली फर्किने थिइनँ होला । यदि म यहाँ आउनुको कुनै कारण छ भने उनी रोनाल्डो नै हुन् । किनभने, म उनीसँग सँगै खेल्न चाहन्थें ।’

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार २०:०७
Loading...