बार्सिलोनाको आकाशबाट मार्टिनेजलाई ‘हाईज्याक’ गर्न रियल मड्रिड सक्रिय !

एजेन्सी, फागुन २
स्पेनिस क्लब बार्सिलोना आगामी समर सिजनमा इटालियन क्लब इन्टर मिलानका युवा फरवार्ड लौटारो मार्टिनेज भित्र्याउन लागेको छ । क्लबका उरुग्वेन फरवार्ड लुइस स्वारेजको दीर्घकालीन विकल्पका रूपमा बार्सिलोनाले अर्जेन्टिनाका २२ वर्षीय फरवार्डलाई पहिलो प्राथमिकतामा राखेको छ ।

तर, अब मार्टिनेज भित्र्याउन बार्सिलोनासँग रियल मड्रिडले भिडन्त गर्ने भएको छ । अर्जेन्टिना तथा स्पेनका मिडिया रिपार्टअनुसार रियल मार्टिनेजको रिलिज क्लज बराबरको रकम खर्चेर भए पनि बार्सिलोनाको आकाशबाट मार्टिनेजलाई हाईज्याक गर्न सक्रिय रहेको छ ।

अर्जेन्टिनी मिडिया ‘टिवाईसी स्पोर्ट्स’ र रियल मड्रिड निकट पत्रिका ‘मार्सा’ मा प्रकाशित रिपार्टअनुसार रियलले इन्टर मिलानसँग सम्पर्क अघि बढाएको छ । मिलानले मार्टिनेजका लागि १११ मिलियन युरो रिलिज क्लज तोकेको छ ।

रिपोर्टअनुसार रियल मड्रिड यदि मिलानले मार्टिनेजका लागि मूल्यमा वृद्धि गरे रिलिज क्लजभन्दा बढी रकम खर्चिनसमेत तयार छ । ‘मार्सा’का अनुसार रियलले मार्टिनेजसँग प्रतिसिजन १४ मिलियन युरो तलब दिने गरी अफर गर्न लागेको छ ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १७:२३
Loading...