ला लिगामा आज रातिबाट २४औं साताका खेल : भ्यालेन्सिया र एथ्लेटिको भिड्दै

काठमाडौं, फागुन २
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज रातिबाट लिगका २४औं साताका खेल सुरु हुँदैछन् । सिजन निर्णायक मोडतर्फ अघि बढ्दै गर्दा २४औं राउन्डको पहिलो खेलमा आज राति भ्यालेन्सिया र एथ्लेटिको मड्रिडको भिडन्त हुन लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट भ्यालेन्सियाको घरमा सुरु हुनेछ ।

अंक तालिकामा हाल एथ्लेटिको २३ खेलपछि ३९ अंक जोडेर चौथो स्थानमा छ । भ्यालेन्सिया भने समान खेलपछि ३७ अंक बनाएर सातौं स्थानमा छ ।

आज आफ्नो घरमा एथ्लेटिकोलाई स्वागत गर्दा भ्यालेन्सिया स्पष्ट जित निकालेर अंक तालिकाको चौथो स्थानमा उक्लिने दाउमा छ । केही समयअघि मात्रै आफ्नै घरमा बार्सिलोनालाई २–० ले हराएको उसले पछिल्ला पाँच खेलमा तीन खेल जितेर दुई खेल हारेको छ ।

यता, एथ्लेटिको भने यो सिजन कमजोर अवस्थाबाट गुज्रिरहेको छ । उसले पछिल्ला पाँच खेलमध्ये मात्रै दुई खेल जितेर दुई खेल हार्दा एक खेल भने बराबर गरेको छ । एथ्लेटिको आज भ्यालेन्सियालाई उसकै घरमा हराए तेस्रो स्थानमा चढ्ने दाउमा छ ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १६:५८
Loading...