राकिटिक बार्सिलोना छाडेर युभेन्टस जाँदै : रोनाल्डोसँग खेल्न आतुर !

एजेन्सी, फागुन २
स्पेनिस क्लब बार्सिलोनाका क्रोएसियन मिडफिल्डर इभान राकिटिकले आफू क्लब छाड्ने तयारीमा रहेको प्रष्ट पारेका छन् । उनले हालै एक अन्तर्वार्तामा बोल्दै ‘६ वर्ष बार्सिलोनामा बिताएको समय अविष्मरणीय हुने’ भन्दै ‘अब नयाँ विकल्पबारे सोच्ने समय आएको’ बताएका छन् ।

हाल ३१ वर्ष पुगेका राकिटिकले आफू इटालियन क्लब युभेन्टस जाने स्पष्ट संकेत दिएका छन् । उनले युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्न आफूले चाहेको र त्यसका लागि आफू आतुर रहेको बताएका छन् । राकिटिकले हालका आफ्ना सहकर्मी लिओनल मेससीको पनि खुलेर तारिफ गरेका छन् । उनले मेस्सीलाई आफ्ना लागि सर्वकालीन महान् खेलाडी भनेका छन् ।

‘मेस्सीसँग खेल्नु निकै आनन्दायी छ, उनी विशेष छन् । हरेक युगमा केही महान् खेलाडी हुन्छन् । उनी १५ वर्षदेखि उच्च स्तरबाट खेलिरहेका छन् । मेरो विचारमा उनी सर्वकालीन् महान् खेलाडी हुन्,’ राकिटिकले भनेका छन् ।

राकिटिकले आफू रोनाल्डोसँग खेल्न उत्साहित रहेको पनि बताए । उनले रोनाल्डोलाई फुटबल इतिहासकै एक पूर्ण र सर्वाधिक सफल खेलाडी भन्दै रोनाल्डोले युभेन्टसमा गरिरहेको प्रदर्शन अनुकरणीय रहेको बताए । ‘अवश्य पनि, म उनीसँग खेल्न चाहन्छु । आतुर छु । उनी फुटबल इतिहासकै एक महान् र सफल खेलाडी हुन्,’ राकिटिकले रोनाल्डोबारे भनेका छन्, ‘उनले अहिले युभेन्टसमा जे गरिरहेका छन्, त्यो निकै शानदार र लोभलाग्दो छ । मेरो विचारमा उनी यो सिजनको सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा अघि बढिरहेका छन् । उनीजस्तो खेलाडी भएको टिमबाट खेल्ने समय आयो भने म किन तयार नहुने ?’

राकिटिकले बार्सिलोनामा बिताएको समयलाई सम्झनायोग्य भनेका छन् । ‘यहाँ म छैटौं वर्ष बिताउँदै छु । मेरा लागि यो क्लब र यो समय विशेष सम्झानायोग्य हुनेछ,’ उनले थपे ।

राकिटिकले आफू अब नयाँ विकल्पबारे सोच्न वा निर्णय लिन तयार रहेको बताए । ‘सायद मैले अब नयाँ कदम चाल्ने समय आएको छ । जुन दिनसम्म म यहाँ रहन्छु, बार्सिलोनालाई सक्दो सघाउने छmु’ राकिटिकले थपे ।

सन् २०१४ मा स्पेनिस क्लब सेभिल्लाबाट बार्सिलोना पुगेर खेलिरहेका राकिटिक अहिले बेन्च खेलाडी भएका छन् । टोलीमा खेल्न समय नै पाउन छाडेपछि उनले समरमा क्लब छाड्ने करिब–करिब पक्का छ ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १४:१२
Loading...