कोपा इटालिया सेमिफाइनल : रोनाल्डोको गोलमा युभेन्टस मिलानसँग हारबाट बच्यो

काठमाडौं, फागुन २
कोपा इटालिया फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा एसी मिलान र युभेन्टसले बराबरी खेलेका छन् । गत राति भएको पहिलो लेगको खेलमा युभेन्टसले पछि परेको अवस्थामा इन्जुरी समयमा पेनाल्टी गोल गर्दै हार पन्छायो ।

मिलानको घरमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । आफ्नो घरमा मिलानले पाहुना टोली युभेन्टसलाई दबाबमा राखेर खेले पनि गोल निकाल्न दोस्रो हाफसम्म संघर्ष गर्नु परेको थियो ।

मिलानका लागि खेलको ६१औं मिनेटमा एन्टे रेबिचले चिप प्रहारमा सुन्दर गोल गरेर युभेन्टसविरुद्ध १–० को अग्रता दिलाएका थिए । सोही गोलको अग्रता लिएर मिलान घरेलु मैदानमा स्पष्ट जिततर्फ अघि बढेको थियो ।

तर खेलको इन्जुरी समयमा युभेन्टसले पेनाल्टी पायो । बक्सभित्रबाट क्रिस्टियानो रोनाल्डाले हानेको बाईसाइकल किकमा मिलानका डिफेन्डरले हातले बल छेकेपछि रेफ्रीले भिएआर प्रयोग गरेर युभेन्टसलाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा रोनाल्डोले सहजै गोल गर्दै खेल १–१ मा टुंगाए ।

यो बराबरीसँगै युभेन्टसले आफ्नो खातामा १ अवे गोल दर्ता गरेको छ, जुन दोस्रो लेगको खेलमा लागि फाइदजनक हुनेछ । अब आफ्नो घरमा उसले मिलानलाई कम्तीमा १–० ले हराए वा ०–० मा रोके पनि युभेन्टस फाइनल पुग्नेछ ।

मिलान खेलको ७१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । रियल मड्रिडबाट लोनमा मिलान पुगेका डिफेन्डर थियो हर्नान्डेज दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाडेपछि मिलानले बाँकी समय १० खेलाडीमा खेलेको थियो ।

यस खेलमा गरेको गोलसँगै रोनाल्डोले युभेन्टसका लागि यो सिजन सबैखाले प्रतियोगिताबाट २४ गोल पूरा गरेका छन् । उनले पछिल्ला ७ खेलबाट मात्रै ११ गोल गरेका छन् भने वर्ष २०२० लागिकन उनले १३ गोल गरिसकेका छन् । उनले यो सिजन गरेका २४ गोलमध्ये ७ गोल पेनाल्टीबाट गरेका छन् । उनले यो सिजन हानेका सबै पेनाल्टीमा गोल गरेका छन् ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार ०७:५२
Loading...