रियल मड्रिडलाई नहराए सिटीले मलाई बर्खास्त गर्नेछ : ग्वार्डिओला

एजेन्सी, फागुन १
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड भिड्दैछन् । यस खेललाई अन्तिम १६ कै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ । प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार टोली अन्तिम १६ मै एकअर्कालाई पन्छाएर अर्को चरण जाने दाउमा छन् ।

यो खेल खेल्नुअघि आफूमाथि सबैभन्दा चर्को दबाब हुने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलले बताएका छन् । ‘स्काई स्पोट्स’सँग कुरा गर्दै उनले यदि सिटीले रियल मड्रिडलाई अन्तिम १६ मा नहराए क्लबले आफूलाई बर्खास्त गर्नेबारे आफू सचेत रहेको बताए । ‘म सिटीका लागि च्याम्पियन्स लिग जित्न चाहन्छु । र, त्यसका लागि मैले रियल मड्रिडलाई हराउनुपर्छ,’ पेपले भने ।

पेपले अघि थपे, ‘यदि हामीले उनीहरूलाई हराउन सकेनौं भने मेरो क्लबका अध्यक्ष वा निर्देशक आएर मलाई भन्नेछन्– पेप, यो पर्याप्त भएन । हामी च्याम्यिन्स लिगको उपाधि चाहन्छौं । माफ गर, हामी तिमीलाई बर्खास्त गर्दै छौं ।’

ग्वार्डिओलाले रियल मड्रिडलाई हराउन सहज नहुने पनि बताए । रियल च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम हुनु, टोलीमा सो प्रतियोगिताका अनुभवी खेलाडी हुनु र जिनेदिन जिदानजस्तो रणनीतिक प्रशिक्षक हुनु विपक्षीका लागि ठूलो टाउको दुखाइ हुने पेपले बताए ।

‘मलाई थाहा छ, यो खेल हाम्रा लागि ज्यादै कठिन हुनेछ । किनभने, उनीहरू च्याम्पियन्स लिगका सबैभन्दा अनुभवी र सफल टिम हुन्, जोसँग यो प्रतियोगता कसरी जित्नुपर्छ भन्ने लामो अनुभव भएका खेलाडी छन्,’ पेपले भने, ‘जिदान एक शानदार प्रशिक्षक हुन्, जो अहिले रियलमा छन् ।’

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार २१:२१
Loading...