रोनाल्डोले एसी मिलानविरुद्ध खेल्नेमा अनिश्चित

एजेन्सी, फागुन १
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियामा आज राति दोस्रो सेमिफाइनल खेलको पहिलो लेगमा एसी मिलान र युभेन्टसको भिडन्त हुँदैछ । सो खेलमा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो खेल्नेमा निश्चि छैन ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका रोनाल्डोलाई प्रशिक्षक माउरिसयो सार्रीले यस खेलमा आराम दिनसक्ने संकेत खेलअघि आयोजित पत्रकार सम्मेलनमा गरेका छन् । उनले रोनाल्डो अहिले शानदार लयमा रहे पनि उनको बढ्दो उमेरबीच उनलाई बेला–बेला आराम जरुरत पर्ने बताएका थिए ।

पत्रकार सम्मेनलमा उनले भनेका थिए– ‘अहिले रोनाल्डोले जे गरिरहेका छन्, त्यो अद्भुत छ । उनीबाट म र टिम ज्यादै खुसी छौं । तर, उनलाई सिजनभर फिट राख्न आराम आवश्यक हुन्छ । मिलानविरुद्ध उनी खेल्ने–नखेल्नेमा मैले निर्णय गरिसकेको छैन । उनीसँग म छलफल गर्नेछु ।’

सार्रीले रोनाल्डोले भने प्रशिक्षणक्रममा आफू निकै राम्रो अवस्थामा रहेको बताएको जानकारी दिए । उनले भने, ‘प्रशिक्षणक्रममा उनले भने आफू निकै राम्रो अवस्थामा रहेको बताएका छन् । उनले आफूलाई १०० प्रतिशत अनुभूत गरिरहेका छन् । हामी टिमको आवश्यकताका अधारमा उनीमाथि हरेक खेलबाट मूल्यांकन गर्दै जानेछौं । यसमा दुईमत छैन, टिमलाई आवश्यक पर्दा उनी मैदानमा हुनेछन् ।’

सार्रीले रोनाल्डोलाई यो सिजनभर सबै हिसाबले फिट राख्नेबारे आफू निकै चिन्तित रहेको बताए । ‘रोनाल्डो युवा खेलाडी हैनन्, उनी ३५ वर्षका भए । तैपनि, उनले अद्भुत काम गरिरहेका छन् । अहिलेको मेरो चिन्ता भनेको उनलाई सिजनभर कसरी १०० प्रतिशत फिट राख्न सकिन्छ र उनलाई कसरी उत्कृष्ट प्रदशर्नमा सहयोग गर्न सकिन्छ भन्नेमा छ । म चाहन्छु– उनले यस यस वर्ष करिअरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न सकून् । सुरुआत त्यहीअनुसार भइसकेको छ ।’

यता, युभेन्टसले मिलानविरुद्ध खेल्न सार्वजनिक गरेको प्रारम्भिक टोलीमा भने रोनाल्डो परेका छन् । सेमिफाइनलमा होम एन्ड अवे गरी दुई लेगका खेल हुनेछन् । आज राति मिलानको घरमा पहिलो लेगको खेल हुन लागेको हो । यो खेलपछि दोस्रो लेग अर्को महिना युभेन्टसको घरमा हुनेछ । युभेन्टस पछिल्लोपटक घरेलु लिगमा भेरोनासँग अवे मैदानमा २–१ ले हारेको थियो ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार १७:५०
Loading...