समरमा युभेन्टसले बेच्दै छ यी चार ‘स्टार’ खेलाडी

एजेन्सी, फागुन १
इटालीको क्लब युभेन्टसले आगामी समर सिजनमा टोलीका केही प्रमुख खेलाडीहरूलाई बेच्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ । इटालियन मिडियाका अनुसार क्लबले टोलीमा युवा खेलाडी भित्र्याउन र टिमलाई ‘सन्तुलित’ बनाउने उद्देश्यअनुसार केही ठूला नामका खेलाडीसमेत बेच्न चाहेको छ ।

क्लबले टोलीमा मिडफिल्डरको संख्या बढी भएपछि खेलाडी कटौती गर्ने तयारी गरेको हो । ‘ला गाजेट्टो डेल्लो स्पोर्ट्स’ मा प्रकाशित समाचारअनुसार क्लबले समरमा बेच्न सक्ने खेलाडीको सूचीमा अधिकांश स्टार नाम छन् ।

जसमा फ्रेन्च मिडफिल्डर ब्लेसी माटुइडी, इटालियन विंगर फेडरिको बर्नान्डेची, ब्राजिलियन फरवार्ड डग्लस कोस्टा र अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइन रहेका छन् ।

युभेन्टसमा मिडफिल्डर माटुइडी र बर्नान्डेची बेचे पनि मिरेलाम पियानिच, राबिओट, रोड्रिगो बेन्टाकुर, आरोन राम्सेजस्ता अनुभवी खेलाडी उपलब्ध छन् । आक्रमण लाइनमा हिगुइन र कोस्टालाई बेचेर क्लबले एक नयाँ युवा फरवार्ड भित्र्याउन प्रयास गरिररहेको छ । हाल आक्रमण लाइनमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबाला पहिलो रोजाइमा खेल्छन् । टोलीमा भरपर्दा वैकल्पिक युवा खेलाडी नहुँदा प्रमुख खेलाडी घाइते भइहाले टोलीको आक्रमणपंक्ति छैन ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार १६:४३
Loading...