डि मारियाले छाने आफ्ना उत्कृष्ट पाँच खेलाडी

एजेन्सी, फागुन १
फ्रेन्च क्लब पिएसजीका अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफ्ना लागि विश्व फुटबलका सर्वोत्कृष्ट पाँच खेलाडी छानेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले आफ्ना उत्कृष्ट पाँच खेलाडीको नाम लिएका हुन् । संयोगले उनले छानेका पाँचै जना खेलाडी उनका सहकर्मीहरू हुन् ।

अर्थात्, डि मारियाले आफ्ना लागि छानेका सबै उत्कृष्ट पाँच खेलाडीसँग उनले क्लब वा देशबाट कुनै न कुनै समय सँगै खेलेका छन्, वा अहिले पनि खेलिरहेका छन् । अन्तर्वार्ताक्रममा उनलाई आफ्ना लागि पाँच उत्कृष्ट खेलाडीको नाम कारणसहित लिन भनिएकोमा उनले पहिलो नम्बरमा राष्ट्रिय टिमका सहकर्मी लिओनल मेस्सीलाई लिएका छन् ।

‘पाँच उत्कृष्ट खेलाडी छान्न कठिन छ । तर, म पहिलो नम्बरमा म लियोलाई लिन्छु । उनी मेरा लागि सधैं उत्कृष्ट छन् । लियो एक असाधारण खेलाडी हुन्,’ उनले भनेका छन् ।

डि मारियाले दोस्रो स्थानमा स्पेनिस क्लब रियल क्लब रियल मड्रिडबाट खेल्दाका पूर्वसहकर्मी क्रिटियानो रोनाल्डोलाई लिएका छन् । उनले रोनाल्डोबारे भनेका छन्, ‘उनी एक पूर्ण खेलाडी हुन्, जो मानसिक रूपमा नेता र शारीरिक रूपमा निकै बलिया खेलाडी हुन् । उनीजस्तो कडा मेहनत गर्ने खेलाडी मैले आजसम्म देखेको छैन ।’

त्यस्तै, डि मारियाले तेस्रो स्थानमा विगतमा पिएसजीबाट सहकर्मी भएर खेलेका स्वीडेनका फरवार्ड ज्लाटान इब्राहिमोभिचलाई राख्दा चौथो नम्बरमा हाल पिएसजीबाटै सँगै खेलिरहेका ब्राजिलियन खेलाडी नेइमारलाई लिएका छन् । पाँचौंमा पिएसजीकै युवा स्टार केलियन एमबाप्पेलाई राखेका छन् ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार १६:०३
Loading...