कोपा इटालिया सेमिफाइनल : आज एसी मिलान र युभेन्टसको भिडन्त हुँदै

काठमाडौं, फागुन १
इटालियन कोपा इटालिया फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । गत राति पहिलो सेमिफाइनलको पहिलो लेगको खेल सकिएपछि आज दोस्रो सेमिफाइनलको पहिलो लेगको खेलमा सिरी ए टोली एसी मिलान र युभेन्टस आमनेसामने हुँदैछन् । खेल मिलानको घरेलु मैदानमा राति १ः३० बजेबाट सुरु हुनेछ ।

घरेलु लिगमा हाल युभेन्टस २३ खेलपछि ५४ अंक बनाएर दोस्रो स्थानमा छ । मिलान ३२ अंकसहित १०औं स्थानमा रहेको छ । केही समयअघि सुपरकोपा इटालियाको अन्तिम आठबाट आउट भएको युभेन्टस यसपटक कोपा इटालिया जसरी पनि जितेर त्यसको घाटा पूर्ति गर्ने दाउमा छ ।

त्यसका लागि सेमिफाइनलमा मिलानलाई हराएर फाइनलमा स्थान बनाउनुपर्छ । पछिल्लो समय सुधारिएको प्रदर्शन गरिरहेको मिलानले लिगका पछिल्ला ५ खेलमा तीन खेल जितेको छ भने एक खेल हारेर एक खेल बराबरी गरेको छ । उसले पछिल्लो खेल भने लिगमा हारेको छ ।

यता, युभेन्टस हाल समान अंक भए पनि लिगमा इन्टर मिलानसँग गोलअन्तरमा पछि परेर दोस्रो स्थानमा छ । उसले पछिल्ला पाँच खेलमा तीन खेल जित्दा दुई खेल हारेको छ । उसले लिगको पछिल्लो खेलमा भेरोनासँग अवे मैदानमा २–१ ले हारेको थियो ।

युभेन्टस आज एसी मिलानको घरेलु मैदानमा उत्रिँदा यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आजको खेललाई मिलानका खेलाडी ज्लाटान इब्राहिमोभिच र युभेन्टसका क्रिस्टियानो रोनाल्डोको भिडन्तका रूपमा पनि हेरिएको छ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका रोनाल्डो आज पनि आफ्नो लय कायम राख्दै टिमको जितमा महत्त्वपूर्ण योगदान दिने तयारीमा छन् । यो सिजन उनले टिमका लागि सबैखाले प्रतियोगिताबाट २३ गोल गरेर २ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार ०८:५३
Loading...