बार्सिलोनालाई कोउटिन्होको सन्देश– ‘म क्याम्प नोउ फर्किन चाहन्नँ’

एजेन्सी, माघ २९
गत समरमा स्पेनिस बार्सिलोनाबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख पुगेका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्हो पुनः स्पेन फर्किने मनस्थितिमा नरहेको रिपोर्ट बाहिरिएको छ । स्पेनको ‘रेडियो क्याटलुनिया’का अनुसार लोन अवधि सकिएपछि कोउटिन्हो बार्यनमै बस्न वा अर्को विकल्पबारे सोच्न तयार छन् । तर, पुनः क्याम्प नोउ फर्किने उनको विकल्पमा नरहेको बताइएको छ ।

खबरअनुसार कोउटिन्होले व्यक्तिगत रूपमा बार्सिलोनाका अधिकारीलाई सन्देश पठाउँदै आफू बार्सिलोना फर्किन ‘अनिच्छुक’ रहेको जानकारी गराएका छन् । उनले आफू तत्कालका लागि बार्यनमै रहन चाहेको बताएका हुन् । कोउटिन्हो गत समर सिजनमा एक वर्षे लोनमा बार्यन पुगेका थिए ।

तर, बार्यनमा पनि प्रदर्शन प्रभावशाली हुन नसकेपछि बार्यन पनि कोउटिन्होलाई लोन अवधि सकिएपछि स्थायी रूपमै खरिद गर्ने पक्षमा नरहेको बताइन्छ । कोउटिन्होलाई बार्यनले चाहे १२० मिलियन युरोमा किन्न पाउने सम्झौता यसअघि नै भइसकेको छ ।

बार्सिलोनाले कोउटिन्होलाई कीर्तिमानी १६० मिलियन युरोमा इंग्लि क्लब लिभरपुलबाट भित्र्याएको थियो । तर, पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको योजनामा उनले फितलो प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई लोनमा बार्यन पठाएको थियो । बार्यनमा कोउटिन्होले सामान्य प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार १७:५६
Loading...