कोपा इटालिया : पहिलो सेमिफाइनलमा आज इन्टर मिलान र नापोली भिड्दै

काठमाडौं, माघ २९
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियामा आज रातिबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा इन्टर मिलान र नापोलीको रोमाञ्चक भिडन्त हुँदैछ । खेल मिलानको घरेलु मैदानमा राति १ः३० बजेबाट सुरु हुनेछ ।

यसअघि हरेक राउन्डमा सिंगल खेल भए पनि सेमिफाइनलमा भने होम एन्ड अवे गरी दुई खेल हुनेछन् । र, दुवै लेगबाट समग्रमा जित निकाल्ने टोली फाइनल पुग्नेछ । आज राति हुने पहिलो लेगको खेल मिलानको घरमा हुन लागेको हो ।

यसअघि क्वार्टरफाइनलमा नापोलीले लाजियोलाई १–० ले हराएर सेमिमा स्थान बनाउँदा मिलानले फियोेरेन्टिनालाई २–१ ले हराएको थियो । दुवै टिम इटालीका बलिया टिम भएकाले यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यतिबेला मिलान घरेलु लिग सिरी ‘ए’ को लिग लिडर टोली हो भने नापोली सुरुआतबाटै संघर्ष गरिरहेको छ । मिलान अहिले साबिक विजेता युभेन्टसलाई पछि पारेर समान अंक भए पनि गोलअन्तरमा अघि रहँदै अंक तालिकाको शीर्ष स्थानमा छ ।

यता, आज मिलानको घरमा उत्रिन लागेको नापोली भने यो सिजन घरेलु लिगमा खराब अवस्थामा छ । ऊ ताजा अवस्थामा ११औं स्थानमा छ । मिलानले यो सिजन लिगमा मात्रै एक खेल हार्दा नापोलीले भने ९ खेल हारिसकेको छ ।

यता, नापोली यो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ भने मिलान भने अन्तिम ३२ बाटै आउट भएको छ । यतिबेला मिलान घरेलु लिग जित्ने अभियानमा रहँदा नापोली टप–४ मा स्थान बनाउन संघर्षरत अवस्थामा छ ।

घरेलु लिगमा मिलानले पछिल्ला पाँच खेलमा सुरुआती तीन खेलमा लगातार बराबरी गर्दा पछिल्ला दुई खेल लगातार जितेको छ । यता, नापोलीले पछिल्लो खेल हारेको छ । उसले पछिल्ला पाँच खेलमा तीन खेल हारेर मात्रै दुई खेल जितेको छ ।

मिलान आज आफ्नो घरमा नापोलीलाई स्वागत गर्दा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो लेगमा सहज जित निकालेर फाइनल यात्रा सहज बनाउने दाउमा छ । यता, नापोली भने घरेलु लिगमा गुमाएको लय मिलानविरुद्धको खेलबाट फर्काउने दाउमा छ ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार १६:४६
Loading...