डेम्बेलेको शल्यक्रिया फिनल्यान्डमा भयो : फिट हुन ६ महिना लाग्ने

एजेन्सी, माघ २९
स्पेनिस बार्सिलोनाका विंगर उसामान डेम्बेलेको शल्यक्रिया फिनल्यान्डमा पूरा भएको छ । अघिल्लो दिन क्लब बार्सिलोनाले अफिसियल प्रेस नोट जारी गर्दै फ्रेन्च खेलाडीको फिनल्यान्डमा ‘हार्मस्ट्रिङ इन्जुरी’ को शल्यक्रिया सफल भएको पुष्टि गरेको छ ।

डेम्बेले केही समयअघि प्रशिक्षणक्रममा घाइते भएका थिए । साढे दुई महिनाभन्दा लामो चोटबाट गुज्रिएर रिकभर हुनेक्रममा रहेका उनी प्रशिक्षणक्रममा घाइते भएपछि उनको शल्यक्रिया नै गर्नु परेको हो ।

क्लब बार्सिलोनाले शल्यक्रिया गर्ने चिकित्सकको भनाइ उद्धृत गर्दै डेम्बेलेलाई फिट हुन कम्तीमा ६ महिना समय लाग्ने बताएको छ । यससँगै डेम्बेलेले यो सिजनका बाँकी सबै खेलसहित यस वर्ष हुने युरो कपसमेत गुमाउने पक्का भएको छ ।

डेम्बेले यससँगै कूल ९ पटक गम्भीरखाले चोटबाट पीडित बनेका छन् । यसअघि पनि उनी आठ पटक लामो समयसम्म मैदानबाहिर रहेका थिए । यसपटक भने उनी सबैभन्दा लामो समय चोटका कारण टोलीबाहिर भएका हुन् ।

सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा बार्सिलोना आएका डेम्बेले पटक–पटक चोटबाट गुज्रिँदा उनको करिअरमा ठूलो धक्का लाग्दै आएको छ । यस सिजन उनले समग्रमा ९ खेल खेल्दै मात्रै १ गोल गरेका छन् ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०९:५१
Loading...