विकल्प नभएपछि ‘चोट बोकी–बोकी’ टिमका लागि खेल्दै मेस्सी ……

एजेन्सी, माघ २८
स्पेनिस क्लब बार्सिलोनाका प्रमुख फरवार्ड तथा कप्तान लिओनल मेस्सी पछिल्लो समय शारीरिक रूपमा ‘अनफिट’ रहेर पनि जबर्जस्त खेलिरहेको खुलेको छ । टिमको आक्रमणपंक्तिमा ‘वैकल्पिक खेलाडी नभएपछि’ मेस्सी चोट बोकी–बोकी भए पनि टिमलाई सघाउन खेलिरहेको खबर स्पेनिस मिडियाले छापेका छन् ।

बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेर्पोटिभो’का अनुसार मेस्सी अहिले १०० प्रतिशत फिट छैनन् । दुई सातादेखि नै उनी चोटसँग जुधिरहेका छन् । क्लब बार्सिलोनाले हालसमम मेस्सीको चोटबारे औपचारिक रूपमा बताएको छैन । र, मेस्सी पूर्ण रूपमा ठीक अवस्थामा नरहेको यसअघि नै प्रशिक्षक क्विके सेटिनले भने बताइसकेका छन् ।

पछिल्लोपटक रियल बेटिसलाई अवे मैदानमा २–३ ले हराएपछि सेटिनले यस्तो बताएका थिए । उनले भनेका थिए– ‘यो साँचो हो, मेस्सी १०० प्रतिशत थिएनन् । तर, हामीसँग विकल्प पनि थिएन ।’

सो खेलमा मेस्सीले असिस्टमा ह्याट्रिक गर्दा बार्सिलोनाले महत्त्वपूर्ण कमब्याक जित निकालेको थियो । सो जितपछि बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी ६ बाट ३ मा झारेको थियो ।

यो सिजनको सुरुआतमा चोटसँग जुधेका मेस्सीका लागि यो सिजन तथ्यांकका हिसाबले ज्यादै सामान्य मात्रै भइरहेको छ । उनले ला लिगाका पछिल्ला तीन खेलमा लगातार गोल गर्न सकेनन् । उनले पछिल्लोपटक कोपा डेल रे फुटबलको अन्तिम १६ मा लेगानेसलाई आफ्नो घरमा ५–० ले हराउँदा २ गोल गरेका थिए ।

टोलीमा अन्य फरवार्ड विकल्पमा उपलब्ध नहुँदा मेस्सीले चोटका बाबजुत पनि खेलिरहेका हुन् । बार्सिलोनामा हाल प्रमुख फरवार्ड लुइस स्वारेज र विंगर उसामान डेम्बेले दुवै घाइते छन् । उनीहरू दुवै यो सिजनपछि मात्रै मैदान फर्किनेछन् । उनीहरू दुवै घाइते भएको अवस्थामा बार्सिलोनाको आक्रमण लाइनमा मेस्सीसहित एन्टोनी ग्रीजम्यान र अन्सु फाती मात्रै उपलब्ध छन् । यदि मेस्सीले आराम लिने हो भने टिम कठिन अवस्थामा रहेका बेला टिममाथि थप चुनौती बढ्नेछ ।

बार्सिलोना लगातार दुई प्रतियोगिता (सुपर कप र कोपा डेल रे) बाट आउट भएपछि मेस्सी आफैं चोट बोकेर भए पनि टिमलाई सघाउन खेलिरहेको बताइएको छ । ‘मुन्डो डेपोर्टिभो’ ले लेखेको छ– ‘यो स्पष्ट छ कि, लिओनल मेस्सीलाई अहिले आराम आवश्यक छ । उनले चोट बोकेका छन् । तर, दुःखको कुरा– बार्सिलोनासँग फ्रन्ट लाइनमा विकल्प छैन । यो वास्तवमै डरलाग्दो छ ।’

मेस्सीको चोट कस्तो हो भन्ने खुलेको छैन । तर, एक सातापछि च्याम्पियन्स लिगमा अन्तिम १६ का खेल सुरु हुन लाग्दा मेस्सी र बािर्सलोनामाथि नै दबाब बढेको छ । च्याम्पियन्स लिगमा इटालियन क्लब नापोलीसँगको खेललाई ध्यानमा राखेर मेस्सीलाई ला लिगाका आगामी खेलमा आराम दिने सम्भावना छ ।

बार्सिलोनाले आगामी खेल शनिबार ला लिगामा आफ्नो घरमा गेटाफेसँग खेल्दैछ । त्यसपछि फेब्रुअरी २२ मा ला लिगामै आफ्नै घरमा एइबारसँग खेलेपछि बार्सिलोनाले फेब्रुअरी २५ मा च्याम्पियन्स लिगमा नापोलीसँग खेल्नेछ ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार २१:१८
Loading...