बार्सिलोनाका पूर्वनिर्देशक भन्छन्– ‘मेस्सी र रोनाल्डो सँगै खेल्न सक्छन्’

एजेन्सी, माघ २८
स्पेनिस बार्सिलोनाका पूर्वनिर्देशक एरिओडो ब्राइडाले क्लबका सुपरस्टार लिओनल मेस्सीले निकट भविष्यमै क्लब छाड्ने सक्ने कुरा ‘असम्भव नरहेको’ बताएका छन् । उनले यो पनि बताएका छन् कि, मेस्सी र उनका खास प्रतिस्पर्धी इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले एकै जर्सीमा खेल्न सक्छन् ।

हालै एक स्पेनिस रेडियोसँग कुरा गर्दै ब्राइडाले मेस्सीका लागि बार्सिलोना छाड्ने ढोका खुला रहेको बताए । ‘मेस्सी एक असाधारण खेलाडी हुन् । उनले अर्जेन्टिनामा भन्दा बार्सिलोनामा धेरै राम्रो गरिरहेका छन्,’ ब्राइडाले भनेका छन्, ‘उनी १३ वर्षको उमेरदेखि परिवारसहित यहाँ छन् । उनका लागि बार्सिलोना छाड्न कठिन छ । तर, असम्भव भने छैन ।’

पोर्चुगलका कप्तान रोनाल्डोसँग मेस्सीको तुलना गर्दै ब्राइडाले उनीहरू दुवै एकै स्तरका खेलाडी रहेको बताए । ‘मेस्सीले पाउन नसकेका केही ठूला सफलता रोनाल्डोसँग छन्, रोनाल्डोले नपाएका केही सफलता मेस्सीसँग छन् । उनीहरू दुवै मेरा लागि एकै स्तरका खेलाडी हुन्,’ ब्राइडाले भने ।

ब्राइडाले भविष्यमा रोनाल्डो र मेस्सीले एकै जर्सीमा खेल्न सक्ने बताए । ‘कहीं न कहींबाट उनीहरूले सँगै खेल्न सक्छन्,’ उनले थपे, ‘पर्खनुहोस् र हेर्नुहोस् ।’

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १८:३७
Loading...