रोनाल्डोद्वारा लगातार ११ सिजन दोहोरो अंकमा गोल

काठमाडौं, माघ २८
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार ११ वर्ष २० वा सोभन्दा बढी गोलको कोसेढुंगा पूरा गरेका छन् । युरोपियन टप–५ लिगमा उनले यो कोसेढुंगा पूरा गरेका हुन् । र, शीर्ष लिगमा लगातार ११ सिजनसम्म २० वा सोभन्दा बढी गोल गर्ने खेलाडीमा अब रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी मात्रै रहेका छन् ।

जारी सिजन मेस्सीले ला लिगामा १४ गोल मात्रै गरेका छन् । उनले यो सिजन २० गोल पूरा गर्दा रोनाल्डोको भन्दा एक बढी सिजन लगातार २० गोल गर्नेमा मेस्सी अघि हुनेछन् ।

दुई दिनअघि सिरी ए लिगमा भेरोनाविरुद्ध गोल गरेपछि रोनाल्डोले जारी सिजन लिगमा २० गोल पूरा गरे । सोही खेलको गोलबाट उनले लिगमा लगातार १० खेलमा गोल गर्ने खेलाडीको रेकर्डसमेत बनाएका थिए । अवे मैदानमा युभेन्सटस भेरोनासँग २–१ ले हारे पनि रोनाल्डोका लागि भने सो खेलको गोल महत्त्वपूर्ण थियो ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा अनुबन्ध भएपछि रोनाल्डोले हरेक सिजन कम्तीमा २० वा सोभन्दा बढी गोल गर्दै आएका छन् । गत सिजनभरिमा २१ गोल गरेका उनले यसपटक मात्रै २० खेलबाट २० गोल गरेका हुन् ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार ०८:२७
Loading...