‘मेस्सी रोनाल्डोजस्ता हैनन्, उनले प्रिमियर लिग खेल्न सक्दैनन्’

काठमाडौं, माघ २७
स्पेनिस क्लब बार्सिलोनामा पछिल्लो समय खेल निर्देशक र कप्तान लिओनल मेस्सीबीचको ‘टकराव’पछि मेस्सीले क्लब छाड्न सक्ने चर्चा बजारमा एकाएक चुलियो । हाल ३२ वर्ष पुगेका अर्जेन्टिनी फरवार्ड मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले भित्र्याउन सक्ने चर्चाले बजार ततायो । तर, अहिले सो विषय सेलाइसकेको छ ।

यसैबेला बार्सिलोनाका पूर्वस्टार खेलाडी (मिडफिल्डर) इम्यान्युल पेटिटले भने मेस्सीले प्रिमियर लिग खेल्न नसक्ने बताएका छन् । उनले कुनै पनि इंग्लिस क्लबले ला लिगामा बानी परेका मेस्सीलाई भित्र्याउने प्रयास गर्नु भूल हुने पनि बताए । हालै एक अन्तर्वार्तामा बोल्दै पेटिटले भनेका छन्–

‘इमानदारीसाथ भन्नुपर्दा मलाई लाग्दैन कि, मेस्सी इंग्ल्यान्डमा खेल्न फिट हुन्छन् । उनी त्यहाँ संघर्ष गर्न सक्दैनन्,’ पेटिटले भने, ‘उनी ला लिगामै सबैभन्दा सुरक्षित छन् ।’

पेटिटले मेस्सीलाई इंग्ल्यान्डमा देख्न पाउँदा समर्थकहरूलाई खुसी लाग्ने भए पनि सिटीले ३३ वर्ष पुग्न लागेका खेलाडी भित्र्याउन किन चोहको भन्ने आफूले बुझन् नसकेको बताए । ‘यदि उनी इंग्ल्यान्ड सरे भने समर्थकहरू खुसी हुन सक्छन् । तर, म्यानचेस्टर सिटी ३३ वर्ष पुग्न लागेको कोही खेलाडीलाई भित्र्याउन किन चाहन्छ, मलाई थाहा छैन ।’

पेटिटले मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार तथा हाल इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न नहुने भन्दै उनी रोनाल्डोजस्तो पूर्ण खेलाडी नरहेको बताए । ‘मेस्सी क्रिस्टियानो रोनाल्डो होइनन् । शारीरिक रूपमा पनि मेस्सी रोनाल्डोजत्तिको बलिया र फिट छैनन्,’ पेटिटले भने, ‘रोनाल्डो प्रिमियर लिग सुहाउँदा खेलाडी हुन्, जसले आफूलाई साबित गरेर पनि गए । तर, मेस्सी हैनन् । रोनाल्डो अहिले पनि प्रिमियर लिग खेल्न सक्छन् ।’

पेटिटले रोनाल्डो शारीरिक रूपमा अझै फिट रहेकाले उनले केही वर्ष राम्रोसँग खेल्न सक्ने तर मेस्सीले अब बढीमा दुई वर्ष मात्रै उच्च स्तरमा खेल्न सक्ने बताए । ‘रोनाल्डो ३९ वा ४० वर्षसम्म ठीकठाक खेल्न सक्छन्, उनी मानसिक र शारीरिक रूपमा सक्षम छन् । तर, मेस्सीले अब बढीमा दुई वर्षभन्दा बढी खेल्न सक्नेछैनन् ।’

पेटिटले यो बताएका छन् कि, मेससीले ला लिगा छाड्नेवाला छैनन् । ‘मलाई लाग्छ, मेस्सीले ला लिगा छाड्दैनन् । छाडे पनि युरोपभन्दा बाहिर जान छाड्नेछन् । उनलाई अब बढ्दो उमेरका कारण पनि स्पेनभन्दा बाहिरबाट टप लिग खेल्न कठिन छ ।’

फ्रेन्च खेलाडी पेटिटले सिजन २०००–२००१ मा बार्सिलोनाबाट खेलेका थिए । उनले बार्सिलोनाका लागि २३ खेलबाट १ गोल गर्दै ११ गोलमा असिस्ट गरेका थिए । त्यसपछि उनी इंग्लिस क्लब चेल्सी पुगेर त्यहींबाट सन्यास लिएका थिए ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार १५:१७
Loading...