रियल बेटिसमाथि बार्सिलोनाको कमब्याक जित : एकै खेलमा दुई रातो कार्ड

काठमाडौं, माघ २७
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कमब्याक जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको २३औं खेलमा बार्सिलोनाले अवे मैदानमा रियल बेटिसलाई पछि परेको अवस्था उल्टाएर २–३ को जित निकाल्न सफल भयो ।

घम्साघम्सीपूर्ण खेलको दोस्रो हाफमा दुवै टिम १० खेलाडीमा झरेका थिए । ७६औं मिनेटमा बेटिसका मिडफिल्डर नविल फेकिर दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाड्दा ७९औं मिनेटमा बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेट पनि दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

बार्सिलोनालाई महत्त्वपूर्ण कमब्याक जिताउन कप्तान लिओनल मेस्सी नायक बने । उनले गोल नगरे पनि टोलीको जितमा ३ गोलमा असिस्ट गरेर टिमलाई योगदान दिए ।

घरेलु टोली बेटिसले खेल सुरु भएको छैटौं मिनेटमै पेनाल्टी गोलमार्फत् बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । बक्समा डिफेन्डर क्लेमेट लेङलेटले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरमार्फत् बेटिसलाई पेनाल्टीको मौका दिएका थिए, जसमा सर्जियो क्यानालेसले सहजै गोल गरेर टिमलाई १–० को अग्रता दिलाए ।

तर, बेटिसको अग्रता धेरैबेर टिकेन । गोल खाएको ३ मिनेटमै बार्सिलोनाले बराबरी गोल फर्कायो । कप्तान लिओनल मेस्सीले लामो दूरीबाट बक्समा दिएको पासमा फ्रेन्की डे जोङले सुन्दर फिनिसिङमा गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि खेलको २६औं मिनेटमा बेटिसका लागि नविल फेकिरले सुन्दर गोल गरे । उनले बक्स बाहिरबाट हानेको लो प्रहारले सुन्दर ढंगले जाली चुमेको थियो । तर, पहिलो हाफको थप समयमा बार्सिलोनाका सर्जियो बुस्केट्सले गोल गरेपछि पहिलो हाफ २–२ मा सकियो ।

पहिलो हाफमा बार्सिलोनालाई दबाबमा राखेको बेटिस दोस्रो हाफमा दबाब परेको थियो, जहाँ उसले १ गोल खायो । खेलको ७२औं मिनेटमा डिफेन्डर लेङलेटले मेस्सीको फ्रि किकमा सुन्दर हेडिङ गोल गरेपछि खेलमा बार्सिलोनाले अग्रता लियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल बार्सिलोनाले २–३ ले जित्यो ।

अब यो जितपछि बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी ३ मै झारेको छ । बार्सिलोनाको खातामा २३ खेलपछि ४९ अंक छ भने रियलको खातामा ५२ अंक छ । पराजित बेटिस भने २८ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०३:३८
Loading...