सिरी ए : १७औं स्थानको टिमसँग नापोली आफ्नै घरमा हार्‍यो

काठमाडौं, माघ २६
पछिल्ला दुई खेलमा लगातार जित निकालेको नापोली इटालियन घरेलु लिगमा फेरि हारेको छ । आइतबार राति भएको लिगको २३औं खेलमा नापोली लिगको १७औं स्थानको लिकेसँग २–३ ले स्तब्ध बनेको हो । च्याम्पियन्स लिगमा अन्तिम १६ को तयारीमा रहेको नापोलीलाई यो हारले ठूलो झट्का लागेको छ ।

पाहुना टोली लिकेले २९औं मिनेटमा जियानलुका लापाडुलाको गोलबाट नापोलीविरुद्ध अग्रता लिएको थियो । तर, दोस्रो हाफ सुरु हुनासाथ नापोलीका लागि ४८औं मिनेटमा अर्काड्युज मिलिकले गोल गरेपछि खेल १–१ भयो । तर, त्यसपछि पाहुना टोली लिकेले खेल आफ्नो पक्षमा लग्यो ।

६१औं मिनेटमा लिकेका लागि जियानलुकाले नै गोल गरेर घरेलु टोलीलाई १–२ को झट्का दिए । त्यसपछि ८२औं मिनेटमा मार्को मानकुसाले गोल गरेपछि लिके जिततर्फ अघि बढेको थियो । त्यसपछि ९०औं मिनेटमा नापोलीका लागि जोसे कालेजोनले गोल गरे पनि खेल लिकेले २–३ ले जित्यो ।

यो हारपछि नापोली २३ खेलाट ३० अंक जोडेर लिगको ११औं सथानमा छ भने लिके २२ खेलसहित १७औं स्थानमा छ । ऊ तत्काललाई रेलिगेसन जोनबाट सुरक्षित छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार २२:१८
Loading...