‘मेस्सीले बार्सिलोनामा आफ्नो पावर देखाए’

एजेन्सी, माघ २५
केही दिनअघि स्पेनिस क्लब बार्सिलोनामा कप्तान लिओनल मेस्सीसहितका खेलाडी र क्लबका खेल निर्देशकबीच उत्पन्न ‘विवाद’को विषयमा क्लबका लिजेन्ड ब्राजिलयन खेलाडी रिभाल्डोले टिप्पणी गरेका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीको अभिव्यक्ति स्वभाविक रहेको बताउँदै मेस्सीले सही समयमा ‘क्लबमा आफ्नो शक्ति देखाएको’ बताए ।

त्यत्ति मात्रै हैन, रिभाल्डोले मेस्सीको भनाइ सहकर्मी र ड्रेसिङ रुमको हितमा रहेको पनि बताए । केही दिनअघि खेल निर्देशक इरिक अबिडालले ‘स्पोर्ट’ सँग पत्रिकासँग कुरा गर्दै पूर्वप्रशिक्षक ‘अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा केही खेलाडीले मेहनत नगरेको र कतिपय खेलाडी खुसी नरहेको’ भन्दै असन्तुष्टि पोखेका थिए ।

तर, त्यसको भोलिपल्टै कप्तान मेस्सीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् खेलाडीको आलोचना गर्ने आफ्ना खेल निर्देशक अबिडालको भनाइप्रति कडा आपत्ति जनाउँदै आक्रोशपूर्ण अभिव्यक्ति मात्रै दिएनन्, मेहनत नगर्ने खेलाडीको नाम दिन चुनौती नै दिएका थिए ।

सोही विषयमा बोल्दै लिजेन्ड खेलाडी रिभाल्डोले मेस्सीसँग अबिडालको भनाइमाथि प्रतिक्रिया दिन पूर्ण अधिकार र शक्ति रहेको भन्दै उनले खेलाडीको हितमा कुरा गरेको बताए । ‘यस विषयमा मेस्सी कप्तानका हिसाबले सही छन् । उनले जे भने, त्यो खेलाडीको हितमा थियो । मलाई लाग्दैन, उनी यसमा गलत छन् । वा, उनमा प्रतिशोधको भावना छ,’ रिभाल्डोले भने ।

त्यस्तै, रिभाल्डोले बार्सिलोनामा मेस्सीसँग ठूलो शक्ति रहेको र उनले यसपटक आफ्नो शक्ति देखाएको पनि बताए । ‘मेस्सीसँग सबैकुरा बोल्ने अधिकार छ । किनभने, उनीसँग क्लबमा ठूलो शक्ति छ । र, उनले यसपटक त्यही देखाए । उनको प्रतिक्रियापछि क्लबभित्र मात्रै नभएर एकपटक विश्व फुटबलमै हलचल सिर्जना भयो ।’

प्रकाशित मिति २६ माघ २०७६, आईतवार २०:१०
Loading...