मेस्सीका प्रशंसक लिंकरले यसरी गरे रोनाल्डोको तारिफ

एजेन्सी, माघ २६
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गत राति सिरी ए लिगमा लगातार १० खेलसम्म गोल गरेर रेकर्ड बनाए । अवे मैदानमा युभेन्टस २–१ ले भेरोनासँग पराजित भए पनि रोनाडोको गोल गर्दै आफ्नो लय र प्रभाव कायमै राखे । सो खेलमा टिमका लागि उनले गरेको गोलले उनका नाममा रेकर्ड बनेको हो ।

सो खेलपछि लिजेन्ड इंग्लिस खेलाडी ग्यारी लिंकरले रोनाल्डोको प्रशंसा गरेका छन् । स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीका ठूला प्रशंसक लिंकरले बढ्दो उमेरबीच पनि रोनाल्डोले शानदार प्रदर्शन गरिरहेको भन्दै मुक्तकुण्ठले तारिफ गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत् उनले रोनाल्डोलाई ‘असाधारण’ खेलाडी भनेका छन् ।

लिंकरले रोनाल्डो हालै ३५ वर्ष पुगे पनि उनले मैदानमा आफूलाई चमत्कारिक लयमा राख्नु ठूलो कुरा रहेको आशयको भनाइ राखेका छन् । ‘क्रिस्टियानो, क्या असाधारण खेलाडी ! उनले सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गरे,’ लिंकरले लेखेका छन्, ‘जो ठूलो स्वरले कराउँदै भर्खरै ३५ वर्षमा लागेका छन् ।’

प्रकाशित मिति २६ माघ २०७६, आईतवार १८:५७
Loading...