आज रियल मड्रिड ओसासुनासँग भिड्दै : बार्सिलोनासँग अंक दूरी बढाउने मौका

काठमाडौं, माघ २६
दुई दिनअघि स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै आउट भएको रियल मड्रिड आज ला लिगामा सो हारपछि पहिलो खेल खेल्दैछ । लिगको २३औं साताको खेलअन्तर्गत रियलले अवे मैदानमा ओसासुनाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

रियल हाल २२ खेलपछि ४९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा स्पष्ट ३ अंकले अघि छ । यदि आज अवे मैदानमा स्पष्ट जित निकाल्न सके आजै राति बार्सिलोनाले आफ्नो खेल नखेल्दासम्म रियलले ६ अंकको अग्रता लिनेछ ।

हालै कोपामा हारेको पीडामा रहेको रियल आज अवे मैदानमा सहज जित निकालेर लय समात्न चाहन्छ । बार्सिलोनासँग अंक दूरी बढाउन पनि रियलका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण छ । ओसासुना हाल २८ अंक बनाएर लिगको १२औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ११:१७
Loading...