कीर्तिमानी रोनाल्डो : सिरी ‘ए’ लिगमा बनाए अर्को रेकर्ड

काठमाडौं, माघ २६
इटालियन सिरी ए लिगमा गत राति लिग लिडर युभेन्टस अवे मैदानमा भेरोनासँग २–१ ले पराजित भयो । घरेलु टोलीविरुद्ध युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ६५औं मिनेटमा सुन्दर गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यसपछि भेरोनाले २ गोल गर्दै खेल जित्यो ।

युभेन्टस सो खेलमा हारे पनि रोनाल्डोको नाममा भने नयाँ रेकर्ड बनेको छ । उनी अब सिरी ए लिगको इतिहासमै लगातार १० खेलसम्म गोल गर्ने युभेन्टसका पहिलो खेलाडी बनेका छन् । यसअघि कुनै पनि खेलाडीले लिगमा लगातार १० खेलसम्म गोल गरेका थिएनन् ।

गत राति रोनाल्डोले गरेको गोल लगातार १०औं खेलको गोल थियो । त्यसअघि उनले लगातार ९ खेलमा गोल गरिसकेका थिए । यससँगै रोनाल्डोले सिरी ए लिमगा जारी सिजन २० गोलसमेत पूरा गरेका छन् । उनले २० खेलबाट २० गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् ।

उनले समग्रमा भने यो सिजन २३ गोल गरेका छन् । त्यस्तै, वर्ष २०२० मा मात्रै उनले १२ गोल गरिसकेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । यता, गत रातिको गोलसँगै रोनाल्डोले युरोपियन टप–५ लिगमा लगातार ११ सिजन २० वा सोभन्दा बढी गोलको आँकडासमेत पूरा गरेका छन् ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ११:१८
Loading...