ला लिगा : ग्रानाडामाथि एथ्लेटिको मड्रिडको कठिन जित

काठमाडौं, माघ २६
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले कठिन जित निकालेको छ । गत राति भएको लिगको २३औं खेलमा एथ्लेटिकोले पाहुना टोली ग्रानाडालाई १–० ले हराउन सफल भयो ।

आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेरियाले गरेको १ मात्रै गोल निर्णायक बन्यो । खेल सुरु भएको छैटौं मिनेटमै कोरेरियाले कोकेको पासमा गोल गरेका थिए । त्यसपछि खेल अवधिभरि नै थप गोल नभएपछि खेल एथ्लेटिकोले जित्यो ।

आफ्नो घरमा दबाबमा परेर खेलेको एथ्लेटिकोले विपक्षीको पोस्टमा जम्मा ६ आक्रण गर्दा ३ प्रहार मात्रै टार्गेटमा राखेको थियो । यता, ग्रानाडाले १० आक्रमण गर्दा २ टार्गेटमा राखे पनि गोल निकाल्न सकेन ।

अब यो जितपछि एथ्लेटिको २३ खेलबाट ३९ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा चढेको छ । पराजित ग्रानाडा ३० अंकसहित लिगको १०औं स्थानमा छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०८:४२
Loading...