गोलको वर्षा भएको खेलमा डर्टमुन्डलाई बायरले हरायो : चलेन हल्यान्डको जादु

काठमाडौं, माघ २६
पछिल्ला खेलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको बोरुसिया डर्टमुन्ड जर्मन लिग बुन्डेसलिगामा पराजित भएको छ । नयाँ युवा स्टार अर्लिङ हल्यान्डको शानदार प्रदर्शनको बलमा डर्टमुन्ड लगातार जितको बाटोमा रहँदा गत राति भने बायर लेभरकुसेनले ४–३ ले स्तब्ध बनायो ।

घरेलु मैदानमा ७ गोलको वर्षा भएको खेलमा खेलको अन्तिम समयमा गोल गरेर बायरले डर्टमुन्डलाई स्तब्ध बनायो । घरेलु टोली बायरले खेलको २०औं मिनेटमा केभिन भोलान्डको गोलबाट अग्रता लिएको थियो । तर, खेलको २२औं मिनेटमै डर्टमुन्डका लागि म्याट्स हुमेल्सले गोल गरेर खेल बराबरी बनाए । त्यसपछि ३३औं मिनेमा युभेन्टसबाट लोनमा पुगेका खेलाडी इम्री च्यानले लामो दूरीबाट उत्कृष्ट प्रहारमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त, ४३औं मिनेटमा बायरका लागि केभिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–२ बनाए । दोस्रो हाफमा पनि डर्टमुन्डले खेलमा अग्रता लियो । ६४औं मिनेटमा राफाएल गुरेरियोले गोल गरेर खेल २–३ बनाए । तर, त्यसपछि घरेलु टोली खेलमा फर्कियो ।

८१औं मिनेटमा लियोन बाइलले गोल गरेर खेल ३–३ को बराबरीमा ल्याए भने लगत्तै अर्को मिनेटमा लार्स बेन्डरले गोल गरेर बायरलाई ४–३ को जित दिलाए ।

अघिल्ला खेलमा लगातार गोल गर्दै आएका नर्वेजियन स्टार हल्यान्डले यस खेलमा पूरा समय खेले पनि गोल गर्न सकेनन् । डर्टमुन्ड पुगिकन उनले खेलेर गोल गर्न नसकेको यो नै पहिलो खेल हो ।

यो जितपछि बायर २१ खेलबाट ३७ अंक जोडेर तालिकाको पाँचौं स्थानमा चढेको छ । पराजित डर्टमुन्ड भने ३९ अंकसहित तेस्रो स्थानमै सीमित छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०८:१६
Loading...