‘मेस्सीलाई सिटीले भित्र्याउने’ चर्चाबारे बोले ग्वार्डिओला

एजेन्सी, माघ २५
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा आफ्ना पूर्वखेलाडी लिअ‍ोनल मेस्सीले बार्सिलोनाबाटै सन्यास लिउन् भन्ने आफूले चाहेको बताएका छन् । पछिल्लो समय बार्सिलोनाका खेल निर्देशकसँग टकराव चर्किएपछि मेस्सीले क्लब छाड्ने हल्ला चलेसँगै म्यानचेस्टर सिटीले मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न सक्ने चर्चा पनि सँगै सुरु भयो ।

सिटीका ग्वार्डिओलाले दुई वर्षअघि नै मेस्सीलाई भित्र्याउन चाहेका थिए । विगतमा लामो समय बार्सिलोनामा रहेर मेस्सीसहितको टोलीलाई प्रशिक्षण दिएका ग्वार्डिओला अझै पनि मेस्सीसँग काम गर्न चाहन्छन् । ग्वार्डिओला मेस्सीका ठूला फ्यानसमेत रहेकाले अवस्थाअनुसार मेस्सी र उनी पुनः एक हुन सक्ने चर्चा छँदैछ ।

बार्सिलोनामा विवाद चर्किपछि मेस्सीले क्लब छाड्न सक्ने अनुमानबीच ग्वार्डिओला स्वयंले भने मेस्सीले बार्सिलोनाबाटै सन्यास लिउन् भन्ने चाहेको बताए । त्यसका लागि ग्वार्डिओलाले शुभकामनासमेत दिए । शनिबार प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलमा बोल्दै ग्वार्डिओलाले भने–

‘उनी बार्सिलोनाका खेलाडी हुन् । र, उनी त्यहीं रहनेछन् । मेरो चाहना पनि यही हो कि, उनी त्यहीं रहून् । जुन खेलाडी अन्य क्लबबाट खेलिरहेका छन्, म उनीबारे कुरा गर्न चाहन्नँ । मेरो विचारमा उनले बार्सिलोनाबाटै आफ्नो करिअर पूरा गर्नेछन् । र, त्यसका लागि म शुभकामना दिन चाहन्छु ।’

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १८:५१
Loading...