सिरी ए : आज युभेन्टस र भेरोना भिड्दै, रोनाल्डोलाई नयाँ रेकर्ड बनाउने मौका

काठमाडौं, माघ २५
इटालियन सिरी ए लिग फुटबलमा आज तीन खेल हुँदैछन् । तीमध्ये भेरोना र लिग लिडर युभेन्टसबीच हुने खेललाई सर्वाधिक आकर्षणको खेलका रूपमा हेरिएको छ । यो खेलका लागि युभेन्टस भेरोनाको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

हाल लिगमा युभेन्टस २२ खेलपछि ५४ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ भने भेरोना समान खेलपछि ३१ अंक बनाएर १०औं स्थानमा छ । भेरोनाले पछिल्ला पाँच खेलमा मात्रै एक खेल जितेको छ । युभेन्टसले भने पाँच खेलमध्ये चार खेल जितेर एक खेल हारेको छ ।

उपाधि होडमा दोस्रो स्थानको इन्टर मिलासँग ३ अंकको अग्रता बनाएको युभेन्टस आज त्यो अग्रता ६ बनाउने दाउमा छ । अवे मैदानमा आज भेरोनाविरुद्ध उत्रिँदा ऊ स्पष्ट जितको खोजीमा हुनेछ ।

यता, टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि भने आजको खेल महत्त्वपूर्ण हुनेछ । ठीकठाक अवस्थामा प्रशिक्षण पूरा गरेका उनी आज अवे मैदानमा भेरोनाविरुद्ध गोल गर्दै लिगमा लगातार १०औं खेलमा गोल गरेर नयाँ रेकर्ड बनाउने अवसर छ । यसअघि उनले ९ खेलमा लगातार गोल गरेर रेकर्ड बनाइसकेका छन् ।

तीन दिनअघि मात्रै ३५औं जन्मदिन मनाएका रोनाल्डोका लागि आजको खेल यस हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ । उनी ३५ वर्ष लागेपछिको पहिलो खेललाई सम्झनालायक बनाउने दाउमा छन् ।

जारी सिजन रोनाल्डोले सबैखाले प्रतियोगिताबाट २२ गोल गरिसकेका छन् । उनले घरेलु लिगमा १९ खेलबाट १९ नै गोल गरेका छन् । वर्ष २०२० लागिकन उनले ६ खेलबाट १० गोल गरिसकेका छन्, यो निकै शानदार तथ्यांक हो ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १०:३६
Loading...