घरेलु मैदानमा सोसिडाडसँग हार्दा रियल मड्रिडका नाममा बने यस्ता खराब रेकर्ड

एजेन्सी, माघ २४
स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा रियल मड्रिड आफ्नै घरेलु मैदानमा रियल सोसिडाडसँग हार्दा रियलका नाममा केही खराब रेकर्ड बनेका छन् । गत राति सान्टियागो बेर्नाबेउमा भएको खेलमा मड्रिडलाई पाहुना टोली सोसिडाडले ३–४ ले हराउँदै प्रतियोगिताबाट आउट गराएर आफू सेमिफाइनल पुगेको थियो ।

सो हारपछि रियल सिजनको एक महत्त्वपूर्ण उपाधि होडबाट आउट मात्रै भएन, केही खराब रेकर्डसमेत बनेका छन् । जसलाई यहाँ चर्चा गरिएको छ ।

जिदानको कमान्डमा पहिलोपटक ४ गोलको सामना

रियल मड्रिडको प्रमुख प्रशिक्षक भइकन जिनेदिन जिदानको नेतृत्वमा टोलीले पहिलोपटक ४ गोल खाएको छ । यसअघि जिदान प्रशिक्षक छँदा कुनै पनि खेलमा रियलले ४ गोल खानु परेको थिएन । अघिल्लोपटक साढे २ वर्ष प्रशिक्षक रहँदा र अहिले दोस्रो सिजन बिताइरहँदा पनि जिदानको टोलीविरुद्ध कुनै पनि टिमले ४ गोल गर्न सकेको थिएन । तर, सोसिडाडले ४ गोलको खुवाएर जिदानलाई नमिठो झट्का दियो ।

बेर्नाबेउमा सिजनको पहिलो हार

जारी सिजन रियल मड्रिडलाई आफ्नै घरमा हराउने सोसिडाड पहिलो टोली बनेको छ । नत्र यसअघि यो सिजन रियललाई उसकै घरमा कुनै पनि टिमले हराउन सकेको थिएन ।

२१ खेलको अपराजित यात्रामा पूर्णविराम

गत राति आफ्नो घरमा रियल सोसिडाडसँग खेल्दा रियल २२औं खेलमा अपराजित रहने दाउमा थियो । तर, तर सोसिडाडले रियललाई उसकै घरमा आएर हराउँदै उसको २१ खेल लामो अपराजित यात्रामा पूर्णविराम लगाइदियो । नत्र, यसअघि रियलले पछिल्ला २१ खेलमा हारेको थिएन ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार २१:०४
Loading...