कोपाबाट आउट भएपछि के–के भने जिदानले ?

काठमाडौं, माघ २४
स्पेनिस कोपा डेल रे फुटबलमा प्रमुख उपाधि दाबेदार मानिएको रियल मड्रिड गत राति अन्तिम आठबाटै आउट भयो । ला लिगा टोली रियल सोसिडाडसँग आफ्नै घरेलु मैदानमा ४–३ ले पराजित हुँदै रियल एक प्रमुख उपाधि होडबाट आउट हुँदा रियलका प्रशिक्षक जिनेदिन जिदानमाथि विभिन्न प्रश्न उठिरहेका छन् ।

स्पेनिस मिडियामा उनले सोसिडाडविरुद्ध टोली बनाउँदा गल्ती गरेकाले कपबाट बाहिरिनु परेको भन्दै फ्रेन्च म्यानेजरको आलोचना भएको छ । तर, गत राति खेलपछि जिदान स्वयंले भने आफ्नो बचाउ गरे । उनले आफ्ना खेलाडीको पनि बचाउ गरे । मिडियासँग कुरा गर्दै उनले हारको जिम्मा लिँदै आफूले टोली छनौटमा गल्ती गरेजस्तो आफूलाई नलागेको बताए ।

‘खेलाडी छनौटमा गल्ती भएजस्तो मलाई लागेको छैन । मलाई विश्वास थियो– त्यो टिमले खेल जित्नेछ,’ जिदानले भने, ‘तर, हामीले कल्पनै नगरेको नतिजा भोग्यौं । मैले जहिल्यै भन्ने गरेको छु– सधैं सबै खेल जित्न सकिँदैन । हामीले सकेसम्म राम्रो गर्न प्रयास गर्ने हो ।’

जिदानले घरेलु मैदानमा आफ्नो टिमले पहिलो हाफमा खराब खेलेको बताए । तर, टिमले ४–१ को अवस्थामा पनि संघर्ष गरेर उत्साह देखाएको बताए । ‘यो साँचो हो, हामीले पहिलो हाफमा निकै खराब खेल्यौं । कुनै पनि कोणबाट हामी सही थिएनौं,’ जिदानले भने, ‘तर, दोस्रो हाफमा हामीले राम्रो खेल्यौं । तर, त्यत्तिबेला धेरै ढिला भइसकेको थियो । हामीले नतिजा गुमायौं तर मेरा खेलाडीले ४–१ को अवस्थामा पनि ठूलो संघर्ष देखाए ।’

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १८:३५
Loading...