इन्जुरी समयमा गोल : बार्सिलोनालाई हराउँदै बिल्बाओ कोपाको सेमिफाइनलमा !

काठमाडौं, माघ २४
प्रमुख उपाधि दाबेदार बार्सिलोना जारी सिजन स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै आउट भएको छ । अर्को उपाधि दाबेदार रियल मड्रिड रियल सोसिडाडसँग आफ्नै घरमा ३–४ ले पराजित हुँदै क्वार्टरफाइनलबाट आउट भएको एक घन्टापछि नै बार्सिलोना पनि क्वार्टरफाइनलबाटै आउट भएको हो । दुई ठूला टिम एकै रात प्रतियोगिताबाट बाहिरिएका हुन् ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको क्वार्टरफाइनल खेलमा बिल्बाओले आफ्नो घरमा बार्सिलोनालाई १–० ले हराउँदै आफू सेमिफाइनल पुग्यो भने बार्सिलोनालाई उपाधिको रिङबाट बाहिर पठायो ।

निकै प्रतिस्र्धात्मक खेलमा बिल्बाओले खेलको इन्जुरी समयमा गोल हानेको थियो । ९० मिनेटपछि थपिएको समयको तेस्रो मिनेटमा इन्की विलियम्सले हेडिङमार्फत् गरेको गोल नै बिल्बाओलाई सेमिमा जान र बार्सिलोनालाई उपाधिबाट बिदा हुन काफी भयो ।

विलियम्सले लामो दूरीबाट इबाईले दिएको पासमा हेडिङमार्फत् हलुका चिप्लाएको बलले बार्सिलोनाका गोलकिपरलाई सजिलै छलाएर जाली चुमेको थियो । सो गोल खाएपछि बार्सिलोनालाई खेलमा फर्किन समय नै रहेन ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०३:३९
Loading...