कोपा डोल रे : रियल मड्रिडमाथि रोमाञ्चक जित निकाल्दै सोसिडाड सेमिफाइनलमा !

काठमाडौं, माघ २४
स्पेनिस क्लब रियल मड्रिडलाई उसकै घरेलु मैदानमा नमिठो हार चखाउँदै रियल सोसिडाड कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको क्वार्टरफाइनल खेलमा भ्रमणकारी टोली सोसिडाडले रियलविरुद्ध ३–४ को सनसनीपूर्ण जित निकाल्दै आफू सेमिफाइनल पुग्दा रियललाई भने प्रतियोगिताबाटै आउट गरायो ।

७ गोलको वर्षा भएको खेलमा दुवै टोलीबाट १–१ गोल भिएआरबाट रद्द भएको थियो । तुलनात्मक रूपमा रियलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि ९० मिनेट र त्यसपछि थपिएको ७ मिनेटको समयमा बराबरी गोल गर्न नसक्दा ऊ उपाधि रिङबाट आउट हुन पुग्यो । यस खेलमा रियलको डिफेन्स र गोलकिपरको कमजोर प्रदर्शन हारको कारण बन्यो । सोसिडाड खेलको ९५औं मिनेटमा १० खेलाडीमा झरेको थियो । एन्डोनी गोरोसाबेल दोहोरो पहेंलो कार्ड पाएर मैदान छाडेका थिए ।

पहिलो हाफमा आफ्नै घरमा चर्को दबाबमा परेर खेलेको रियलले १ गोल खाएको थियो भने सोसिडाडको १ गोल भिएआरले रद्द गरिदिएको थियो । सोसिडाडका लागि खेलको २२औं मिनेटमा रियलबाटै लोनमा सोसिडाड पुगेका युवा खेलाडी मार्टिन ओडेगार्डले सुन्दर गोल गरेका थिए । रियलका गोलकिपरबाट रिबाउन्ड भएर आएको बलमा उनले गोलकिपर एरिओलाको टाङमुनिबाट छिराएका थिए ।

दोस्रो हाफमा खेलमा छिनछिनमा रोमाञ्चक मोड देखिए, जहाँ दुवै तर्फबाट गरी ६ गोल भए । दोस्रो हाफ सुरु भएपछि ५४औं मिनेटमा एलेक्सान्ड्रे इसाकले गोल गरे । पहिलो गोल गरेको २ मिनटमै इसाकले व्यक्तिगत दोस्रो गोल भली प्रहारमा गरेपछि सोसिडाड खेलमा ०–३ ले अघि रह्यो ।

३ गोल खाएपछि रियलका लागि खेलको ५९औं मिनेटमा मार्सेलोले गोल गरेर टिमलाई खेलमा जीवित बनाएका थिए । तर, त्यसपछि ६९औं मिनेटमा चौथो गोल खाएपछि रियलको हातबाट खेल टाढा पुगेको थियो । मिकेल मेरिनोेले सो गोल गर्दै घरेलु टोलीलाई १–४ ले पछि पारेका थिए ।

तर, त्यसपछि पनि रियलले खेलमा फर्किने आधार बनाएको थियो । उसको दोस्रो गोल भिएआरबाट रद्द हुँदा झट्का लागेको थियो । भिनिसियस जुनियरको सो गोललाई भिएआरले मान्यता दिएको थिएन ।

अन्तिम १० मिनेट बाँकी रहँदा खेल बराबरी गर्न ३ गोल आवश्यक रहेका बेला रियलले लगातार आक्रामक खेल खेलेर खेलमा फर्किन संघर्ष देखायो । ८१औं मिनेटमा सब्सिच्युट खेलाडी रोड्रिगोले गोल गर्दै खेल २–४ बनाए । फेरि थप समयको तेस्रो मिनेटमा नाचोले गोल गरेर रियललाई खेलमा जीवित बनाएका थिए ।

तर, त्यपछि बाँकी ४ मिनेटको समयमा रियलले गोल गर्न नसक्दा खेल सोसिडाडले ३–४ ले जित्यो । यो हारसँगै रियलको २१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रियलले सबैखाले प्रतियोगिताबाट गरी पछिल्ला २१ खेल हारेको थिएन । केही समयअघि मात्रै स्पेनिस सुपर कप जितेको रियल अप्रत्यासित रूपमा एक महत्त्वपूर्ण उपाधि होडको अन्तिम आठबाटै आउट भएपछि टोलीमाथि दबाब बढेको छ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०१:३४
Loading...