बार्सिलोनामा ‘ठूलो हलचल’ : मेस्सी म्यानचेस्टर सिटी जान सक्ने !

एजेन्सी, माघ २३
क्लबमा खेल निर्देशकले खेलाडीको आलोचना गरेको विषय चर्किएपछि स्पेनिस क्लब बार्सिलोनामा ठूलो हलचल पैदा भएको छ । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टअनुसार टोलीका कप्तान लिओनल मेस्सीले एकाएक क्लब छाड्ने ‘खतरा’ बढेको छ । सबैजसो खेल मिडियाले विभिन्न कोणबाट यस विषयमा विभिन्न खबर प्रकाशित गरिरहेका छन् ।

तीन दिनअघि क्लबका पूर्वखेलाडीसमेत रहेका खेल निर्देशक इरिक अबिडालले ‘स्पोर्ट’सँग कुरा गर्दै ‘पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा केही खेलाडीले मेहनत नगरेको’ भन्दै आलोचना गरेका थिए । तर, उनको यस्तो अभिव्यक्तिपछि टोलीका कप्तान मेस्सीले कडा आपत्ति जनाएपछि क्लबमा ठूलै हलचल सुरु भएको हो । यस्ता विषयमा अक्सर नबोल्ने मेस्सीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक विचार राख्दै अबिडाललाई ‘मेहनत नगर्ने खेलाडीको नाम दिन’ चुनौती नै दिएका थिए ।

यति भइसकेपछि एकाएक बार्सिलोनामा मेस्सीको प्रतिक्रियलाई धेरैले ‘क्लब छाड्न सक्ने पहिलो संकेत’ का रूपमा लिएका छन् । त्यसका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी उनका लागि पहिलो गन्तव्य बन्ने चर्चा छ । सिटीमा रहेका प्रशिक्षक पेप ग्वार्डिओला उनै प्रशिक्षक हुन्, जसले तीन वर्षअघिबाटै मेस्सी भित्र्याउन चाहेका थिए ।

विगतमा लामो समय बार्सिलोनामा रहेर मेस्सीसहितको टोलीलाई प्रशिक्षण दिएका ग्वार्डिओला अझै पनि मेस्सीसँग काम गर्न इच्छुक छन् । र, यदि बार्सिलोनामा अवस्था बिग्रँदै गएर मेस्सीले क्लब छाड्ने अवस्था आए सिटी ३२ वर्षीय मेस्सीलाई भित्र्याउन पहिलो नम्बरमा अगाडि आउने चर्चा छ । यदि मेस्सीले चाहे उनले फ्रि ट्रान्सफरमा क्लब छाड्न सक्छन् । जबकि, उनको रिलिज क्लज ७०० मिलियन युरो छ ।

तर, स्पेनका केही मिडियाले भने अहिले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ अहिले क्लबमा निस्किएको टकराव अन्त्य गर्न लागिपरेकाले यो समस्या समाधान हुने खबर संप्रेषण गरेका छन् ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार २१:३१
Loading...