कोपा डेल रे क्वार्टरफाइनल : सेमिफाइनल पुग्न बार्सिलोना र बिल्बाओ भिड्दै

काठमाडौं, माघ २३
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आज क्वार्टरफाइनलअन्तर्गत दुई रोमाञ्चक खेलहरू हुँदैछन् । जसमा एक खेलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओको भिडन्त सबैभन्दा आकर्षणको खेल हुनेछ । सेमिफाइनल पुग्न निर्णायक भिडन्त गर्न बार्सिलोना ला लिगा टोली एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा उत्रिँदैछ ।

हाल लिगामा बार्सिलोना २२ खेलपछि ४६ अंक बनाएर लिगको दोस्रो स्थानमा छ । बार्सिलोना लिग लिडर रियल मड्रिडभन्दा ३ अंकले पछि । बिल्बाओ समान खेलपछि ३१ अंक बनाएर नवौं स्थानमा छ ।

आज बिल्बाओको घर सान मेमेजमा उत्रिँदा बार्सिलोना चर्को दबाबमा हुनेछ । किनभने, बार्सिलोना पछिल्लो समय कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यता, बिल्बाओ त्यसै पनि बार्सिलोनाका सहज प्रतिस्पर्धी होइन । उसले यही सिजन मात्र ला लिगाको सिजनको पहिलो खेलमै बार्सिलोनालाई आफ्नो घरमा १–० ले हराएको थियो ।

आज बिल्बाओ आफ्नो घरमा उत्रिँदा बार्सिलोनासँग यसअघिकै कथा दोहोराउने दाउमा हुनेछ । तर, बार्सिलोना भने बिल्बाओसँग ला लिगाको पहिलो खेलमा भोगेको हारको बदला कपको क्वार्टरफाइनलमा लिने दाउसहित सान मेमेज पुगेको छ ।

आज बार्सिलोनाको टोलीमा सबै प्रमुख खेलाडी उपलब्ध छन् । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रीजम्यानसहितका खेलाडी आक्रमण लायन खेल्नेछन् । गोलपोस्ट मार्क आन्द्रे टर स्टेगेनले सम्हाल्नेछन् । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ११:२७
Loading...