सनको निर्णायक गोलमा टोटनह्याम एफए कपको पाँचौं चरणमा

काठमाडौं, माघ २३
दक्षिण कोरियन खेलाडी सन हेङ मिनको निर्णायक गोलको मदतमा साँघुरो जित निकाल्दै इंग्लिस क्लब टोटनह्याम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । अघिल्लोपटक भएको खेल बराबरीमा सकिएपछि रि–प्ले गराउँदा टोटनह्यामले लिग प्रिमियर लिग टोली साउथह्यापटनमाथि ३–२ को जित निकाल्दै अर्को चरण पुगेको हो ।

आफ्नो घरमा टोटनह्यामले खेलको १२औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । सो गोल ज्याक स्टेफन्सले गरेका थिए । तर, खेलको ३४औं मिनेटमा साउथह्यामपटनका लागि साने लङले गोल गर्दै खेल १–१ मा ल्याए ।

त्यसपछि दोस्रो हाफमा ३ गोल भए । खेलको ७२औं मिनेटमा साउथह्यामपटनले घरेलु टोलीविरुद्ध अग्रता लियो । डनी इङ्सले गोल गरेका थिए । लगत्तै ७८औं मिनेटमा लुकास मोउराले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८७औं मिनेटमा टोटनह्यामले पेनाल्टी पायो । जसमा सनले कुनै गल्ती नगरी गोल गरेर टिमलाई ३–२ ले जिताए । यससँगै टोटनह्याम कपको पाँचौं चरणमा पुग्दा साउथह्यामपटन भने आउट भएको छ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ११:०५
Loading...