डेम्बेलेको स्थानमा बार्सिलोनाले ‘आपत्कालीन’ रूपमा भित्र्याउँदैछ यी खेलाडी

एजेन्सी, माघ २२
स्पेनिस क्लब बार्सिलोनाले चोटग्रस्त आफ्ना विंगर उसामान डेम्बेलेको आवश्यकता टार्न तत्कालका लागि नयाँ खेलाडी भित्र्याउने तयारी गरेको छ । स्पेनिस पत्रिका ‘मार्सा’का अनुसार बार्सिलोनाले ला लिगा क्लब गेटाफेका फरवार्ड एन्जल रोड्रिग्वेज भित्र्याउन छलफल अघि बढाएको छ । उनी स्पेनिस खेलाडी हुन् ।

डेम्बेले गम्भीर चोटबाट पीडित भएपछि उनको अप्रेसन हुँदैछ । र, उनी करिब ५ पहिना मैदानबाहिर हुनेछन् । उनको आवश्यकता पूरा गर्न बार्सिलोना तत्कालै वैकल्पिक खेलाडी भित्र्याउने कसरतमा लागेको हो । तर, त्यसका लागि बार्सिलोनासँग केही सर्त छन् ।

जनवरी विन्डो बन्द भइसकेकाले बार्सिलोनाले बाहिरका खेलाडी अब किन्न पाउँदै । उसले ला लिगा क्लबकै कुनै खेलाडी, स्पेनिस खेलाडी वा खाली रहेका कुनै खेलाडी मात्रै भित्र्याउन पाउँछ, त्यो पनि विन्डो बन्द भएको दुई साताभित्रमा । र, अहिले बार्सिलोना त्यही सुविधा प्रयोग गरेर नयाँ फरवार्ड भित्र्याउन लागेको हो ।

उमेरले ३२ वर्ष पुगेका रोड्रिग्वेजले गेटाफेका लागि कूल २५ खेलबाट १२ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् । उनले धेरैजसो खेल बेन्चबाट खेलेका छन् । बार्सिलोनाले उनलाई सस्तो मूल्यमा भित्र्याउन प्रयास गरिरहेको छ ।

बार्सिलोनामा डेम्बेले मात्रै नभएर प्रमुख फरवार्ड लुइस स्वारेज पनि घाइते भएकाले टोलीमा आक्रमण लाइनमा खेल्ने खेलाडी अभाव भएको छ । स्वारेज यो सिजनभरि नै बाहिर हुन्छन् । हालको अवस्थामा बार्सिलोनासँग आक्रामण लाइनमा लिओनल मेस्सी, एन्टोनी ग्रीजम्यान र १७ वर्षीय अन्सु फाती मात्रै उपलब्ध छन् ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार २०:५५
Loading...