बार्सिलोना हल्यान्ड भित्र्याउन चाहन्थ्यो तर …….

एजेन्सी, माघ २४
स्पेनिस बार्सिलोना अहिले टोलीमा एक भरपर्दा युवा फरवार्ड भित्र्याउने कसरतमा छ । त्यसका लागि उसको सूचीमा विभिन्न लिगमा खेलिरहेका यो समयका चलेका युवा खेलाडी सूचीमा रहेको बताइन्छ । केही समयअघिसम्म बार्सिलोनाको नजर तात्कालीन अस्ट्रियन क्लब रेड बुलका नर्वेजियन युवा फरवार्ड अर्लिङ हल्यान्डमाथि पनि रहेको चर्चा थियो ।

तर, जर्मन क्लब बोरुसिया डर्टमुन्डले मात्रै १९ वर्षका युवा स्टारलाई सस्तै मूल्यमा अप्रत्यासित रूपमा भित्र्यायो । त्यसअघि उनीमाथि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड कम्मर कसेर लागिपरेको थियो । बार्सिलोनाले मन गरिसक्दा नसक्दै गोल मेसिन युवा खेलाडी डर्टमुन्ड पुगे ।

अहिले डर्टमुन्डमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका हल्यान्डलाई के बार्सिलोनाले साँच्चै भित्र्याउन चाहेको थियो त ? यसबारे क्लबका खेल निर्देशक इरिक अबिडालले बताएका छन् । ‘स्पोर्ट’ पत्रिकासँग कुरा गर्दै उनले हल्यान्डमाथि आफूहरूले चासो बढाउँदा बढाउँदै उनको सरुवा भएको बताएका छन् । ‘सायद हामी ढिला भयौं । हामीले उनीबारे भर्खर सोच्न थालेका थियौं,’ अबिडालले खुलाएका छन्, ‘तर, डर्टमुन्डले निकै चाँडो गरी उनलाई भित्र्यायो ।’

हल्यान्ड डर्टमुन्डमा अनुबन्ध भएपछि मात्रै आफूहरूबीच उनीबारे गहिरो छलफल भएको अबिडालले बताए । ‘हामीले तत्कालै उनीबारे ठोस कुरा गर्न सकेनौं वा आवश्यक नै ठानेनौं । जब उनी जर्मनी पुगे, अनि हामीले सोच्यौं । मलाई लाग्छ, उनी गोल गर्न जन्मेका खेलाडी हुन् । यदि उनी हाम्रा खेलाडी भएका थिए भने टिमलाई ठूलो सहयोग पुग्ने थियो, जोसँगै कम्तीमा १३ वर्ष सक्रिय रूपमा खेल्ने समय छ ।’

अबिडालले नयाँ फरवार्ड भित्र्याउने विषयमा सोच्न र तयारी गर्न समय रहेको बताए । ‘अब त्यसका लागि हामीले समरसम्म पखिर्नुपर्छ । जनवरी विन्डो बन्द भइसकेपछि हामीसँग सोच्न र गृहकार्य गर्न समय छ,’ उनले थपे, ‘यो प्रष्ट हो, हामीलाई एकजना फरवार्ड चाहिन्छ ।’

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १३:३०
Loading...