लिग वानमा पिएसजीको लगातार जित, बनायो १५ अंकको अग्रता

काठमाडौं, माघ २२
फ्रेन्च लिग वान फुटबलमा पिएसजीले साँघुरो जित निकालेको छ । गत राति भएको लिगको २३औं साताको खेलमा पिएसजीले अवे मैदानमा नान्टेसलाई उसकै घरेलु मैदानमा १–२ ले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा पिएसजीले खेलको २९औं मिनेटमा माउरो इकार्डीको गोलबाट अग्रता लिएको थियो । केलियन एमबाप्पेको पासमा एन्जल डि मारियाले हानेको प्रहार गोलमा परिणत भए पनि इकार्डीलाई लागेर ‘रिफ्लेक्ट’ हुँदै पोस्टमा छिरेकाले पछि प्राविधिक टिमले सो गोल इकार्डीको नाममा दिँदा डि मारियाको गोल खोसिएको थियो ।

त्यसपछि खेलको ५७औं मिनेटमा पिएसजीले अग्रता बढायो । थिलो केहरले डि मारियाकै दोस्रो पासमा गोल गर्दै पिएसजीलाई घरेलु टोलीविरुद्ध ०–२ को अग्रता दिलाए ।

तर, खेलको ६८औं मिनेटमा नान्टेसका लागि मोसेस सिमोनले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत गरे पनि थप गोल गर्न नसक्दा नान्टेसलाई पिएसजीले उसकै घरमा १–२ ले हरायो ।

अब यो जितसँगै पिएसजीले २३ खेलबाट कूल ५८ अंक जोडेको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेइल्लीलाई १५ अंकले पछि पारेको छ । पराजित नान्टेस २३ खेलपछि ३२ अंक बनाएर १०औं स्थानमा छ ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०८:३६
Loading...