यु–२३ टिमले लिभरपुललाई एफए कपको पाँचौं चरणमा पुर्‍यायो

काठमाडौं, माघ २२
इंग्लिस क्लब लिभरपुलको सिनियर टोली विन्टर बिदामा रहेका बेला यु–२३ टोलीले टिमलाई एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गराएको छ । गत राति भएको चौथो चरणको रि–प्ले खेलमा लिभरपुलको युवा टोलीले श्रेजबरीलाई १–० ले हराएर अर्को चरणमा स्थान बनायो ।

यस खेलमा लिभरपुलको यु–२३ टोली खेलेको थियो । सिनियर टोली बिदामा रहेकाले प्रशिक्षक जोर्गेन क्लोपले यसअघि घोषणा गरेअनुसारै कपको रि–प्ले खेल्न जुनियर टोलीलाई जिम्मा दिएका थिए । जसमा टिमले उपहार गोलको मदतमा १–० को जित निकाल्दै टिमलाई अर्को चरण लैजान सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा तल्लो श्रेणीको टिमविरुद्ध लिभरपुलले दबाब बनाएर खेले पनि उसले गोलका लागि ठूलै संघर्ष गर्नुपरेको थियो । तर, खेलको ७५औं मिनेटमा लिभरपुलले उपहार गोल पायो । लिभरपुलका नेको विलियम्सले लामो दूरीबाट बक्समा दिएको पासमा श्रेजबरीका खेलाडी रो–साउन विलियम्सले हेडिङमार्फत् क्लियर गर्नेक्रममा बल सोझै आफ्नै पोस्टमा छिराएपछि लिभरपुलले खेलमा १–० को अग्रता बनायो ।

त्यसपछि पाहुना टोली श्रेजबरी खेलमा फर्किन सकेन । र, खेल लिभरपुलले जित्यो । यससँगै श्रेजबरी प्रतियोगिताबाट आउट भयो भने लिभरपुल पाँचौं चरणमा प्रवेश गरेको छ । रि–प्लेअन्तर्गत आज राति हुने अन्तिम खेलमा टोटनह्यामले साउथह्यामपटनसँग आफ्नो घरमा राति ११ः३० बजेबाट खेल्दैछ ।

गत राति भएका अन्य रि–प्ले खेलमा अक्सफोर्ड युनाइटेडलाई न्युक्यास्टलले २–३ ले हराउँदा पेनाल्टी सुटआउटमा रिडिङले कार्डिफ सिटीलाई १–४ ले हरायो । त्यस्तै, बिर्मिनघामले पेनाल्टीमा कोभेन्ट्रीलाई ४–१ ले हराउँदा डर्बी कोउन्टीले नर्थह्यामपटनलाई ४–२ ले हरायो ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०८:१२
Loading...