हल्यान्डको लगातार गोल तर डर्टमुन्ड जर्मन कपबाट आउट

काठमाडौं, माघ २२
नयाँ युवा स्टार अर्लिङ हल्यान्डले टिमका लागि लगातार चौथो खेलमा गोल गरे पनि जर्मन क्लब बोरुसिया डर्टमुन्डले हार टार्न नसक्दा जर्मन कपबाट आउट भएको छ । गत राति भएको तेस्रो चरणको खेलमा डर्टमुन्ड बुन्डेसलिगा क्लब वेर्डरसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाटै आउट भएको हो ।

वेर्डरको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले खेलको १६औं मिनेटमा डाभी सेल्केको गोलबाट अग्रता लिएको थियो । उनले निकै सुन्दर गोल गरेका थिए । त्यसपछि खेलको ३०औं मिनेटमा लियोनार्दो बिटेनकोर्टले गोल गरेर पहिलो हाफमा वेर्डरलाई २–० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको सुरुआतमा हल्यान्ड थ्रोगाना हाजार्डलाई प्रतिस्थापन गर्दै मैदान छिरे पछि डर्टमुन्डले तेस्रो गोल खायो । खेलको ७०औं मिनेटमा मिलोट राशिकाले गोल गरेपछि वेर्डर सहज जिततर्फ अघि बढेको थियो ।

तर, त्यसपछि लगातार गोल गरेर डर्टमुन्डले खेलमा फर्किने संकेत देखाएको थियो । खेलको ६७औं मिनेटमा हल्यान्डले गोल गरेर गोलअन्तर घटाए । त्यसपछि खेलको ७८औं मिनेटमा जिओभानी रायनले गोल गरेर खेल ३–२ मा झारे । उनले डर्टमुन्डको सिनियर टोलीका १७ वर्षकै उमेरमा कीर्तिमानी गोल गरेका थिए ।

तर, त्यसपछि डर्टमुन्डले थप गोल गर्न नसक्दा खेल वेर्डरले ३–२ ले जित्दै अर्को चरण पुग्दा डर्टमुन्ड भने जर्मन कपको तेस्रो चरणबाटै आउट भयो ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०७:४८
Loading...